Shittalpati
लालीगुराँसको अस्तित्व बचाउन रेसुङ्गा नगर सरकारको चासो

गुल्मी, यतिबेला जिल्लाको धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेसुङ्गा क्षेत्रका वनपाखा राताम्मे भएका छन् । बालकदेखि युवा अनि वृद्धवृद्धासम्मको ध्यान गुराँसमै छ । फूलको थुँगा टपक्क टिपेर शिरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउनेको ताँती लागेको छ । गुराँसको फेदैमा पुगेर रमाउने प्रशस्तै भेटिन्छन् । गुराँसको फूलले पाहुनालाई स्वागत गरिन्छ । तर गुराँस फूल टिपेर लैजाँदा लालीगुराँस नै संकटमा पर्न थालेको छ । राष्ट्रिय फुल लालीगुराँसको अस्तित्व बचाउन रेसुङ्गा नगर सरकारले भने चासो देखाएको छ ।

यहाँ आउने आन्तरिक तथा बाÞय पर्यटकहरुले लालीगुराँस टिप्ने र हागाँहरु भाच्ने गरेको गुनासो आएपछि  नगर सरकारले एक सूचना नै जारी गरी त्यसो नगर्न आम नागरिकमा अपिल गरेको छ । नगरपालिकाले लालीगुराँससहित सबै बोटविरुवाको सुरक्षा गर्न आग्रह गरेको छ । “रेसुङ्गा क्षेत्र धार्मिक, ऐतिहासिक, पर्यटकीय महिमा रहेको तपोभूभि, देवभूमि, पुण्यभूमि, अमृतभूमिमा विभिन्न ठाउँबाट धार्मिक तथा पर्यटकीय भ्रमण गर्नुहुने महानुभावहरुले रेसुङ्गा क्षेत्रको रमणीय प्राकृतिक सुन्दरतामा खलल पुग्ने गरी लालीगुराँस लगायत अन्य विभिन्न प्रजातिका बोटविरुवाका हाँगा भाँची नोक्सान पुर्‍याएको गुनासो आएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले सूचना जारी गर्दै भनेका छन्, “यसले यहाँको प्राकृतिक सुन्दरतामा ह्रास आएको छ । तसर्थ, रेसुङ्गाको महिमा र प्राकृतिक सौन्दर्यमा ह्रास तथा गिरावट आउने गरी कोही कसैबाट अपवित्र कार्य नगर्नु हुन नगरपालिका हार्दिक अनुरोध गर्दछ । यस सम्बन्धमा सबै सरोकारवालाहरूबाट सहयोगको अपेक्षा पनि गरिएको छ ।”

रेसुंगा क्षेत्रमा जाने पर्यटकले गुराँस टिप्ने, हाँगा भाँच्ने र बोटमै समेत क्षति पुर्‍याएपछि नगरपालिकाले सार्वजनिक रुपमा सबैमा अपिल गरेको हो । अहिले रेसुङ्गा क्षेत्रमा लालीगुराँस फुलेर रमणीय बनेको छ । जसले गर्दा विभिन्न ठाउँबाट मानिसहरू रेसुङ्रुगा पुग्ने गरेका छन् । त्यहाँ पुग्नेहरु फुल हेर्न जान्छन् ।  चुडेर लैजान्छन् । बर्षेनी फुल चुडेर ल्याउँदा लालीगुराँस नै संकटमा छ । राष्ट्रिय फुल लालीगुराँसको अस्तित्व बचाउन पनि यस्तो कदम चालिएको प्रमुख प्रशासकिय अधिकृत पल्लीले बताए ।  फूल टिपेर सौन्दर्य बिगार्न थाले । लालीगुराँसले राताम्य हुने समयमै फुल टिपेर उजाड बनाइदिन थालेपछि बाध्य भएर सबैमा अपिल गरिएको उनको भनाई छ । उनका अनुसार राष्ट्रिय फुल लालीगुराँसले बनको शोभा बढाइरहेको र फुल हेर्न जानेले फुल नै चुडेर ल्याउन थालेपछि लालीगुराँसको अस्तित्व नै  सकिने हो कि भन्ने चिन्ता बढेको पल्लीले बताए । यहाँका बनक्षेत्रमा लालीगुराँस हेर्न जानेको निकै ठूलो भिड लाग्छ । फूलको थुँगा टपक्क टिपेर शिरमा सिउरिनेदेखि बोटैमा चढेर फोटो खिचाउने गर्छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update