Shittalpati
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका भित्रका सबै विद्यालयको शैक्षिक सत्र २०७७ सालको बार्षिक वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ सहित १–९ सम्मका सबै कक्षाका परीक्षाफल मंगलबार प्रकाशित गरिएको हो ।

४५ वटा परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा कक्षा ५ मा ४ सय ६३ जना र कक्षा ८ मा ४ सय ९६ जना विद्यार्थीहरु सहभागी भएका थिए । उनीहरुको परीक्षा गे्रडिङ्ग प्रणालीका आधारमा निकालिएको गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले जानकारी दिए । उनका अनुसार कक्षा ५ र ८ को परीक्षफल गाउँपालिकाले प्रकाशित गरेको हो भने , अन्य कक्षाको सम्बन्धित विद्यालयहरुले नै एकै पटक प्रकाशित गरेका छन् । नतिजा गाउँपालिकाको वेभसाईट Mathagadhimun.gov.np गएर वा गाउँपालिकाको फेसबुक पेज मार्फत पनि हेर्न सकिने फोकल पर्सन भट्टराईले बताए ।

कोभिडका कारण कक्षा ५ र ८ को दुई वटा परीक्षा मात्र भएका थिए । कोभिड–१९ को अवस्था भयावह बन्दै गएपछि गाउँपालिकाले रोकिएका परीक्षाको वैकल्पिक माध्यम अवलम्बन गरी नतिजा तयार गरेको हो । विद्यार्थी भौतिक रूपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गाउँ शिक्षा समितिले वैकल्पिक माध्यबाट परीक्षाफल प्रकाशित गरेको हो । कक्षा–५ र ८ को वार्षिक परीक्षाको मूल्यांकन दोस्रो त्रैमासिक परीक्षाबाट, ३५ प्रतिशत, तेस्रो त्रैमासिकबाट ३५ प्रतिशत र निरन्तर मूल्यांकन विधिबाट ३० प्रतिशत गरि १०० प्रतिशत अंक राखेर परीक्षाफलको मापदण्ड निर्धारण गरी नतिजा प्रकाशित गरिएको परीक्षा तथा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । अन्य कक्षाको पनि आन्तरिक मूल्याङ्कनबाट नै नतिजा प्रकाशित गरिएको हो । परीक्षा सम्पन्न गर्न र नतिजा प्रकाशन गर्न सहयोग गर्नुहुने सम्पूर्ण पक्षलाई अध्यक्ष थापाले धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update