Shittalpati
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा

काठमाडौं । यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अप्रिल महिनामा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा यस वर्ष ९२ मिलीमिटर वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताए । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यस वर्षाको प्रकृति भिन्न छ ।

सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि औसत वर्षा हुने मौसमविद्को अनुमान रहेको छ । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराÞन तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुनेगर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा वर्षा भएको हो । विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको अधिकांश भू–भागमा सामान्य बदली रही पूर्वी भूभागका केही स्थान र पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पूर्वी र मध्य लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही पूर्वी भूभागको केही स्थानमा पश्चिमी तथा मध्य भूभागमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको औल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र धिकतम तापक्रम २३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव ९ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । –रासस

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update