Shittalpati
पाल्पामा लकडाउनको उलङ्घन, संक्रमण फैलिने भन्दै स्थानीय त्रसित

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज सोमबार ४९ औ दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अति आवश्यक कामले मानिसहरु घरबाहिर निस्किन सरकारले अनुमती दिए पनि केही मानिसहरु भने काम बाहेक घर बाहिर निस्केर लकडाउनको उलङ्घन गरेका छन् । सुरुवातका दिनहरुमा पाल्पामा लकडाउनको कडाईका साथ पालना भएपनि पछिल्ला दिनहरुमा भने लकडाउनको उलङ्घन भएको पाइएको हो ।

लकडाउनका कारण अत्यावश्यक सेवाका सवारी साधन र मानिसहरुका लागि अनुमती भएपनि तानसेन लगायत जिल्लाका अन्य सडक हेर्दा सवारीको चाप र मानिसहरुको भीड अत्याधिक देखिन्छ । प्रदेश ५ मा ४० जना संक्रमित भेटिइसकेको अवस्था छ । यो अवस्थामा कोरोना संक्रमण रोक्न एकमात्र उपाय सामाजिक दुरी कायम गर्नु हो । लकडाउन जारी रहेको पाल्पामा भने यसको पालनामा सावधानी देखिदैन । अन्य समयमा सेवाग्राहीको भिडभाड हुने तानसेनको शित्तलपाटी, बैंक रोड, लहरेपिपल, कैलाशनगर लगायतका स्थानमा भीड देखिन्छ । लामो समयको लकडाउन पछि सरकारले अत्यावश्यक सरकारी कार्यालय तथा बैंक, वित्तीय संस्था सहित ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेसँगै तानसेनमा भीडभाड बढेको हो । विशेष गरी भारतमा रोजगार गर्ने नेपालीहरुको पेन्सन लगायत रकम भुक्तानी गर्ने बैंकमा दैनिक सयांैको संख्यामा रकम भुक्तानी दिने काम भएको छ । एकातिर यस्तो गतिविधिले पाल्पामा कोरोनाको संक्रमण हुने डर बढेको छ । सडकमा निवार्ध रुपमा सवारी समेत गुडीरहेका छन् । प्रहरीको चेकिङ जारी रहेपनि केही मानिसहरु औषधी खरीद गर्न, विरामी जाँच गर्न, खाद्यान्न, बैंकमा पैसा झिक्ने बाहनामा अनावश्यक हिडिरहेका छन् । जसले गर्दा लकडाउनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भने अनावश्यक काममा बाहिर निस्कन रोक लगाईको बताए । उनले भने ‘अत्यावश्यक कामका लागि जिल्ला प्रशासनबाट पासको व्यवस्था गरिएको छ, सोही पासका आधारमा सवारी चलाउन अनुमती दिइएको हो ।’ सरकारले आइतबारदेखि केही अत्यावश्यक कार्यालय र उद्योगहरु सञ्चालनमा अनुमती दिएसँगै सवारी साधन र मानिस आवत–जावतमा भने केही भीड देखिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले स्वीकार गरे । अनावश्यक रुपमा सवारीसाधन र मानिसको आवत–जावतले संक्रमण फैलिने त्रास स्थानीयमा छ नि भनि सोध्दा प्रजिअ सुवेदीले भने ‘एकाध केही त्यस्तो हुन सक्छ, यस्तो विषय आम नागरिकले आफै बुझ्नु पर्ने हो तर लाठ्ठी नै लगाएर नागरिकलाई नियन्त्रण गर्नु त्यत्ति सान्दर्भिक नहुन सक्छ ।’ लडकडाउनको जथाभावी रुपमा उल्लङ्घन भएको भए थप छलफल गरिने उनले जानकारी दिए । चैत्र ११ गतेदेखि सुनसान बन्दै आएको सदरमुकाम तानसेन बजारमा मानिसको आवत–जावत बढेको छ । सडकमा मानिसहरु ओहोर–दोहोर गरेका छन् ।

तानसेनमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् । भारतीय भूतपूर्वक सैनिकहरुले तानसेनको एसविआई बैंकमा लाइन लागेर पेन्सन थापेका छन् । गाउँ–गाउँबाट पेन्सन लिन बैकमा वृद्धवृद्धाहरुको भिडभाड देखिन्छ । बैंकमा अत्याधिक भिड बढेपछि दुरी कायम गर्न प्रहरीलाई हम्मे–हम्मे भएको छ । लामो समय लकडाउनको कारण काम गर्न नपाएका मजदुरहरु समेत सडकमा नाम्लो बोकी हिडेका छन् । तानसेनका केही स्थानमा घर निर्माणको काम शुरु भएकाले मजदुरहरु काममा खटिएका हुन् । लकडाउन खुकुलो भएसँगै गाउँ–गाउँबाट मानिसको आवत–जावत बढेपछि तानसेनवासी भने चिन्तित बनेका छन् । छिमेकी जिल्लाहरुमा संक्रमित भेटिएकाले पाल्पामा उच्च सकर्तकता अपनाउनुपर्ने तर्फ स्थानीय प्रशासनले ध्यान दिनुपर्ने तानसेनका स्थानीय राजेन्द्र गोपाल सिंहले बताए । उनले भने ‘लकडाउन भनिए पनि लकडाउनको पालना भएको छैन, यो अत्यन्त दुखद् हो ।’ व्यवस्थापकीय पक्षलाई सम्बन्धित निकायले चासोका साथ हेरिनुपर्नेमा उनले जोड दिए ।

तानसेनमा दैनिक रुपमा विहान ९ देखि ११ बजेसम्म खाद्यान्य दूध पानी जस्ता पसल खोल्ने भनिए पनि नियम पूर्वक पालना नभएको तानसेन ३ का रामबहादुर थापाले बताए । जिल्लाका ठाउँ–ठाउँमा प्रहरी चेकिमा बसे पनि लखरलखर हिड्नेको संख्यामा कमी आएको छैन । लकडाउन सम्बन्धी जानकारी भएका आमनागरिकले नै लकडाउन उलङ्घन गर्ने गरेको प्रहरीको भनाई रहेको छ । बैंकको काम, स्वास्थ्य क्षेत्रको काममा हिँड्न आम सर्वसाधरणलाई छोड्ने गरेको र अनावश्यक हिँडडुल गर्ने लकडाउन उलङ्घन गर्नेहरुलाई सम्झाई बुझाई गरेर छोड्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update