Shittalpati
अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद

रामपुर । अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ । यही वैशाख २६ गते ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उनकी श्रीमती सरिता नेपालीलाई छाप्रो बनाएर राखिएको छ । चौध वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिनसमेत रोक लगाइएको थियो ।

काजक्रियाका लागि घर नजिकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाएलगत्तै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन् । ‘अन्तरजातीय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइँदैन, घरभित्रै अरु सरहसँगै राख्न निर्देशन दिएको छु’,अध्यक्ष बस्यालले भने । श्रेष्ठका तीन भाई दाजुभाइमध्ये दुई भाई विदेशमा छन् । उनलाई अन्तरजातीय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल आएपछि मात्र पार्थिव शरीरमा दागबत्ती दिइएको थियो । अन्तरजातीय विवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आएका छन् । पोखरामा गाडीमा सह–चालकको काम गर्ने श्रेष्ठका श्रीमती र दुई सन्तती छन् । रासस

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update