Shittalpati
गाउँको उत्पादन शहरमा खोसाखोस

कृष्ण पोखरेल
पाल्पा । लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् । गाउँघरमा काफल एैसलु, खल्डुक, किम्मो जस्ता मौसफी फलफुल पाकेका छन् । गाउँघरमा फलेका भक्तपुरे काक्रादेखि तरुल, फर्सी, भुटुक, सिब्लीगान जस्ता उत्पादनले एकान्तवासमा बसेका शहरका उपभोक्तालाई लोभ्याएको छ । लकडाउनको समयमा जिल्लाको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा ग्रामीण भेगमा फलेका मौसमी तथा बेमौसमी फलफूल तरकारीको स्वाद चखाएपछि एकान्तवासमा बसेका तानसेनका उपभोक्ताको मन लोभ्याउने गरेको छ ।

तानसेनका उपभोक्ताहरु गाउँको उत्पादन किन्न आ–आफ्नो घर अगाडि चोक–चोकमा लाईन लागेर बस्ने गरेका छन् । सहकारीले गाउँको उत्पादन काफल भक्तपुरे काक्रा, पिडालुको गावाँ, सिब्लीगान, तरुल, पाकेको फर्सी, कोईरालको फूल जस्ता उत्पादन शहरमा ल्याउँदै आएको छ । तानसेन नगरपालिका ७ सन्तोष ज्ञवालीले अर्गानिक भक्तपुरे काक्रो, अचार खान भुटुक, पेडालुको गावाँ हतार–हतार गर्दै किने । गाउँको अर्गानिक उत्पादन बजार भाउँभन्दा सस्तोमा पाउँदा उपभोक्ताको आर्कषण बढेको ज्ञवालीले बताए । सहकारीले माथागढी गाउँपालिकाको विभिन्न स्थानबाट संकलन गरेको काफल, भक्तपुरे काक्रा, पिडालुको गावाँ, सिब्लीगान, भुटुक एक–एक दिनको फरकमा तानसेनका फरक–फरक उपभोक्ता माझ पुर्‍याउँदै आएको छ । लकडाउनको समयमा गाउँमा विक्री नहुने आफ्नो उत्पादन खेतबारीमा कुहिने अवस्थाबाट सहकारीले हामीजस्ता किसानहरुलाई सहयोग गरेको कृषक भुवन सिंह गाहाले बताए ।

जिल्लामा लकडाउनको समयमा कोरोना सक्रमणबाट बच्न र बचाउन बाहिरी जिल्लाको तरकारीमा प्रतिवन्ध लगाएपछि माथागढी बहुद्देश्यीय सहकारी संस्थाले कृषि एम्बुलेन्समार्फत गाउँघरको उत्पादन शहरका उपभोक्तासम्म पुर्‍याउँदै आएको छ । लकडाउनको समयमा गाउँघरका किसानको उत्पादन शहरको भान्छासम्म पुर्‍याई कृषकलाई उत्साहित बनाउने काम सहकारीले गर्दै आएको माथागढी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताए । माथागढीका कृषकहरुले खेतबारीमा फलेको काफल चामल किन्ने पैसा जुटाएका छन् । लकडाउनको समयमा किसानले गाउँको तरकारी तथा फलफूल बजारसम्म लैजान नसकेको अवस्थामा चरा मुसाले खाएर र कुहिएर नोक्सान भइरहेको समयमा सहकारीले एक सय रुपैयाँ प्रति मानो खरिद गरी विक्री गर्दै आएको छ ।

सहकारीले भक्तपुरे काक्रो प्रति किलो ६० रुपैयाँ, काफल प्रति माना १ सय रुपैयाँ, भुटुकप्रति किलो ५० रुपैयाँ, धनिया प्रति मुठा २० रुपैयाँ, सेमी, प्रति किलो ५० रुपैयाँ, सिव्लीकान प्रतिमुठा ३० रुपैयामा उपभोक्तालाई विक्री गर्दै आएको छ । पाल्पामा बगनासकाली, रम्भा गाउँपालिका, तानसेन नगरपालिकाले पनि कृषि उत्पादन स्थानीय बजारसम्म पुर्‍याई कृषकहरुलाई उत्साहित बनाएका छन् । कृषकहरुले लकडाउनको समयमा स्थानीय सरकारले खेलेको भूमिका प्रति घरदैलोको सरकारको रुपमा अनुभूती गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update