Shittalpati
मन्त्रालयबाट परिपत्र नआउदासम्म पाल्पामा लकडाउन यथावत्

कृष्ण पोखरेल

पाल्पा । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले लकडाउनलाई खुकुलो बनाउदै निश्चित मापदण्ड अपनाएर ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरे पनि पाल्पामा भने मन्त्रालयको परिपत्र नआउदा अन्यौल भएको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले जेठ ५ गतेसम्म लकडाउन लम्वाउदै ४२ प्रकार उद्योग तथा सरकारी कार्यालयहरु खोल्ने निर्णय गरे पनि पाल्पामा भने गृह मन्त्रालयबाट परिपत्र नआएकाले अन्यौल भएको हो । हामीले पनि विभिन्न सञ्चार माध्यमहरुबाट लकडाउन खुकुलो भएको र केही उद्योगहरु सञ्चालन गर्न दिने निर्णय भएको भन्ने कुरा थाहाँ पाएका छौ तर आधिकारीक रुपमा मन्त्रालयबाट केही परिपत्र नआउदासम्म लकडाउनको पुरानै अवस्था रहने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

मन्त्रालयको परिपत्र आएपछि जिल्लाको कोरोना रोकथाम उच्च स्तरीय समितिको बैठक बसेर जिल्लाको विषयमा निर्णय गरिने प्रजिअ सुवेदीले बताए । जिल्लामा १० भन्दा बढी खानी उद्योगहरु रहेको र जसमा दैनिक रुपमा २ हजार भन्दा बढी टिप्परहरु पाल्पा, रुपन्देही तथा नवलपरासी क्षेत्रमा चुनढुङ्गा ओसार पसार गर्दै आएका छन् । खानीजन्य उद्योग सञ्चालन हुँदा दैनिक रुपमा सञ्चालन हुने टिप्परमा लुकिछिपी यात्रुहरु ओहोर दोहोर गर्दा सक्रमणको जोखिम हुने भएकाले निश्चित मापदण्ड अपनाएर चालक र सहचालक बाहेक अन्य व्यक्तिहरुलाई यात्रामा पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने नागरिक समाजका अगुवा बुद्धि प्रसाद शर्माले बताए । जिल्लाको रैनादेवी छहरा गाउँपालिका, तिनाउँ गाउँपालिका, माथागढी गाउँपालिका र निस्दी गाउँपालिकामा खानीजन्य उद्योग सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update