Shittalpati
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल

हाम्रा संवाददाता
पाल्पा, स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।

विकास र समृद्धि एक्लैले सम्भव नरहेको भन्दै स्थानीय र प्रदेश सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीले औल्याएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले तीनै तहको सरकारले काम गर्ने भूगोल एउटै भएकाले तीनै तह बिच समन्वय, सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताए । विकास र समृद्धिका लागि सबै तह मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरे । संघ र प्रदेशबाट योजना सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको सचिव काफ्लेले बताए । उनले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानीय तहसँग समन्वय गरेर मात्रै गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाइसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै उनले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थालिने बताए ।

कार्यक्रममा रामपुर नगर सरकारका प्रमुख रमणबहादुर थापाले प्रदेश सरकारबाट टुक्रे योजना आँउदा समस्या भएको बताए । उनले नगर भित्र प्रदेश सरकारमार्फत सञ्चालनमा रहेका योजनाहरुको बारेमा जानकारी गराउँदै टुक्रे र साना योजनाका कारण आफुहरुलाई कार्यान्वयनमा समस्या भएको औल्याए । नगर प्रमुख थापाले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक पर्ने क्षेत्रमा समेत बजेट विनियोजन हुन नसक्ने अवस्था रहेकाले त्यसतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । उनले भने– ‘स्थानीय तहले थाहै नपाई योजना सञ्चालन हुन्छ, आवश्यक ठाँउमा पर्याप्त बजेट विनियोजन हुँदैन त्यसैले स्थानीय तहसँग समन्वय गर्न आवश्यक छ ।’ नगर प्रमुख थापाले स्थानीय तहको सिफारिसका आधारमा बजेट विनियोजन गर्न प्रदेश सरकारलाई सुझाव दिए । नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन समेत प्रदेश सरकारलाई आग्रह गरे । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन र डाक्टरको व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश सरकारको बजेटमार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको खालिवन रामपुर सडक निर्माण कार्य तत्काल गर्नु पर्ने समेत नगर प्रमुख थापाले बताए । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव राम प्रसाद पाण्डेले स्थानीय र प्रदेश सरकारसँगको सहकार्य आवश्यक रहेको बताए । उनले स्थानीय तहसँगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट गर्ने बताए । लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका उप–सचिव यमकान्त पाण्डेले स्थानीय तह र प्रदेशको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारबिच समन्वय र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारले विनियोजन गरेका बजेटमार्फत सञ्चालन भएका योजनाको अवस्था, सञ्चालनको क्रममा भएका जटिलता, समन्वय लगायत प्रदेश सरकार र स्थानीय तह बिचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update