Shittalpati
‘शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो’

पाल्पा, नेपाल सरकारका सचिव डा. हरि प्रसाद लम्सालले शिक्षकमा राजनीतिक प्रभाव हावी हुँदा शैक्षिक अवस्था खस्कदो रहेको बताएका छन् । जिल्लाको रामपुरमा नगरभित्रका शिक्षकहरुलाई शैक्षिक सुधार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमलाई सहजीकरण गर्दै सचिव लम्सालले यस्तो बताएका हुन् ।

उनले भने ‘शिक्षकमा शिक्षा भन्दा पनि राजनीतिक प्रभाव हावी भएका कारण शैक्षिक अवस्था खस्कदोँ अवस्थामा पुगेको  हो ।’ डा.लम्सालले विभिन्न भयका कारण शिक्षकहरु आफ्नो सुरक्षाका निम्ती कुनै न कुनै दल र संघ संगठनमा आवद्ध भएका कारण शिक्षा क्षेत्र प्रति नकारात्मक भाष्य सिर्जना भएको भन्दै यसलाई चिर्न आवश्यक रहेको औँल्याए । विद्यालय शिक्षा सुधारका लागि राजनीतिक बहस भन्दा पनि शैक्षिक बहस गर्नु पर्नेमा लम्सालले जोड दिए । उनले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई कुनै पनि कार्यकारी पद वा लाभको पदमा नबस्न आग्रह समेत गरे । उलम्साले भने ‘सबै शिक्षकले आफ्नो पेशा प्रतिको धर्म पूर्ण रुपमा निभाउदै विद्यालयको सुधारका लागि शिक्षकहरु आफै लाग्नु पर्दछ ।’ लम्सालले हरेक शिक्षकले बदलिंदो समयसँगै प्रविधिको प्रयोग र शिक्षण सिकाईको शैली फरक बनाउँदै लैजानु पर्नेमा जोड दिए । उनले नगरको शैक्षिक विकासका लागि हरेक विद्यालयको महत्व दिने खालका विषय सञ्चालन गर्नु पर्ने उल्लेख गर्दैै सहकार्य, समन्वय र सहअस्तित्व कायम गरेर अगाडि बढ्न शिक्षकहरुलाई आग्रह गरे । विजयपुरमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकाको शैक्षिक उन्नयनका लागि प्रतिवद्ध भएर कक्षा शिक्षण गर्नुुपर्नेमा जोड दिए । उनले भौतिक विकासले मात्र नगरको विकासले पूर्णता नपाउने भन्दै मस्तिष्कको विकासका लागि विद्यालयमा प्रभावकारी शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । ‘भौतिक पूर्वाधारको विकास भए पनि जबसम्म सकारात्मक सोच सहितको मस्तिष्कको विकास हुँदैन तब सम्म नगरपालिकाको समग्र विकासले पूर्णता पाउँदैन’ नगर प्रमुख थापाले भने । उनले  मस्तिष्कको विकास शिक्षक बाहेक अरुले गर्न नसक्ने भन्दै नैतिकवान नागरिक बनाउनका लागि विद्यालय शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाले हरेक विद्यालयको शैक्षिक गुणस्तरस्तरीय बनाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा विद्यालय सुधार र कार्य सम्पादन मूल्यांकखन सम्बन्धी सहजीकरण गरिएको थियो । दरैठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनीको अध्यक्षता, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update