Shittalpati
तिहारको झल्को, चैतमा पनि फूल्यो ढकमक्क सयपत्री !

इमान सिं राना
पाल्पा (रामपुर), मखमली र सयपत्रीलाई तिहारको प्रायको रुपमा लिने गरिन्छ । सयपत्री विशेष गरी कार्तिक र मंसिरको समयमा फूल्ने फूलको रुपमा लिईन्छ । माग भने सदावहार हुने भएकाले पाल्पा लगायत गण्डकी बेशी क्षेत्रमा अन्य समय भारत वा देशका केही सिमित स्थानबाट परिपूर्ति हुँदै आएको थियो । तर अब भने सयपत्रीको मालाको लागि बाहिर जानु नपर्ने भएको छ । स्थानीय माग पूर्तिका लागि हाम्रो आधुनिक कृषि फर्मले बेमौसमी फूल खेती थालेसंगै सहज हुने भएको हो । पाल्पा मै पहिलो पटक व्यवसायी फूलखेती गरेर तिहारका बेला चर्चा बटुलेका रामपुर ४ देविस्थानका दिलबहादुर थापा र रामपुर ५ बेझाँडका लालबहादुर थापाले बेमौसमी रुपमा सयपत्री फूलाउन सफल भएसंगै सहज भएको हो । चैत महिनामा पनि यहाँ ढकमक्क फुलेका फुलहरुले त्यहाँ पुग्ने जो कोहीलाई पनि तिहारको झल्को दिने गर्दछ ।

रामपुर ४ देविस्थानमा रहेको झण्डै साढे १ रोपनी जग्गामा सयपत्री अहिले ढकमक्क फुलेको छ । वैदेशिक रोजगारीको यात्रा पश्चात ३ वर्षदेखि जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आएका थापा दाजुभाईले तरकारीसंगै अहिले फूल खेती पनि सुरु गरेका छन् । प्रदेश पाँचले प्रदान गरेको ७ दिनको तालिमसंगै दिलबहादुरले तिहारलाई मध्यनजर गर्दै आफ्नै जग्गामा मखमली र सयपत्री लगाएका थिए । उनले तिहारको समयमा मात्रै १ लाख ५० हजार बढी आम्दानी गर्न सफल भए । परीक्षणको रुपमा लगाएको फूलको माग तिहारमा मात्रै नभई सदाबहार हुने भएकाले अहिले तरकारी फर्मसंगै फुल खेती सुरु गरिएको दिल बहादुरले बताए ।

उनले भने, ‘फूल शुभकार्यको लागि नभई नहुने र कृत्रिम मालाको सट्टामा फूलको मालाले दिने आकर्षण फरक हुने हुनाले यसको सम्भावना देखेरै फूल खेती तर्फ लागेका हौं । चाहिएको समयमा अन्यत्रबाट मगाउनु पर्ने बाध्यता हटाउन मौसममा मात्रै नभई बेमौसममा पनि सुरु गरेका हौं ।’ लामो समय वैदेशिक रोजगारी पछि सामूहिक रुपमा तरकारी खेती गर्दै आएका थापाले तरकारीको तुलनामा फूलखेती धेरै सहज भएको बताए । उनले थपे, ‘तरकारी उत्पादन पछि बजार खोजेर हिड्नुपर्ने बाध्यता छ । कस्ले किनिदिन्छ भनी सोधेर हिड्नु पर्छ । तर फूल व्यवसाय सम्मानित व्यवसाय रहेछ ।

आवश्यक परेका मानिसहरु खोजी खोजी आउँछन् । फोनबाटै अर्डर दिन्छन् । धेरै समय खर्च गर्नु पनि नपर्ने । लागत पनि धेरै नलाग्ने’ फर्मका अर्का सञ्चालक लालबहादुरले फर्ममा अहिले १ हजार ५ सय बढी विरुवाले उत्पादन दिन थालेको बताए । उनले भने, ‘अहिले अन्यत्र फूलको अभाव छ । हाम्रो बगैचामा फूल फुलेको थाहा भए पछि पाल्पा, स्याङ्जा, तनहुँका विभिन्न स्थानबाट अर्डर आउने गरेको छ ।’ लालबहादुरले फूलको माग परिपूर्तिको लागि नयाँ विरुवा समेत लगाई सकेको बताए । उनले थपे, ‘हामीले आफै तयार पारेर प्रतिगोटा सय रुपैयाँका दरले माला र ४ सय रुपैयाँ किलो फूल विक्री गर्दै आएका छौं ।’ उनीहरुले अहिलेको विरुवाहरुबाट ३ लाख सम्म आम्दानी लिने लक्ष्य लिएका छन् । उनीहरुले आगामी दिनमा सयपत्रीको मालालाई थप आकर्षक बनाउने सँगै गुलाबको खेती गर्ने लक्ष्य लिएको बताउँछन् ।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update