Shittalpati
झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्र बन्दै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा अगाडि बढेको हो ।

गाउँपालिकाले कृषि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने योजना अनुरुप वडा कार्यालयले झडेवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विस्तार गर्दै गएको छ । तीन वर्षदेखि नै झेडवालाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने अठोटसँगै वडा कार्यालयले कृषकहरुलाई निःशुल्क रुपमा खुर्सानीका विउ, मल र प्राविधिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले खुर्सानी खेतीका लागि आवश्यक सहयोग गर्दै आएकाले यस तर्फ कृषकहरुको आकर्षण समेत बढ्दै गएको छ । झडेवा क्षेत्र खुर्सानी खेतीका लागि उर्वर मानिएकाले यसलाई पकेट क्षेत्रको विकास गरिएको वडा अध्यक्ष मधु पराजुलीले बताए । खुर्सानी खेतीका लागि वडा कार्यालयले आवश्यक विउविजन, मल र प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको उनको भनाई छ ।

झडेवामा खुर्सानी खेतीको लागि २१ कृषक समूह निमार्ण गरी विभिन्न क्षेत्रमा खुर्सानी खेती गरिदै आइएको छ । ३ वर्ष अघि देखी खुर्सानी खेती गर्दे आउनु भएका मालिका देवी कृषि समूहका कृषक चन्द्र बहादुर बरालले १० रोपनी जग्गामा खुर्सानी लगाई वार्षिक ३ लाख बढी आम्दानी गर्दै आएको बताउँछन् । खुर्सानी खेती बाटै राम्रो आम्दानी हुन थालेपछि अन्य बाली समेत लगाउन छाडी खुर्सानी मात्र लगाउन थालेको बरालले बताए । चन्द्र बहादुर बराल यस क्षेत्रका कृषकहरुले खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि अन्य कृषकहरु समेत यस खेतीतर्फ आर्कषित बन्दै गएको बताए । झडेवा देवगीरका कृषक देव वहादुर वरालले पनि खुर्सानीबाट राम्रो आम्दानी हुने देखेपछि आफ्नो करिव ६ रोपनी खाली जग्गामा मेथाहट जातको खुर्सानी लगाएका छन् । अहिले खुर्सानी खेतीबाटै आफ्नो ८ जनाको परिवार पालिनुका साथै बचत समेत गर्न सफल भएको उनी बताउँछन् । खुर्सानी उत्पादन देखि बजारसम्मको कुनै पनि समस्या नभएको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update