Shittalpati
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ

इमान सिं राना
पाल्पा (रामपुर) । बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ । कोरोना महामारीका कारण हुन सक्ने सम्भावित खाद्यसंकट टार्न तथा नगरलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा उन्नत जात धानको बीउ वितरण गर्न थालेको हो । कृषि शाखाले गत वैशाख ८ देखि १४ गते सम्म वडा कार्यालय मार्फत कृषकहरुको माग निवेदन संकलन गरेको थियो । सोही निवेदनको आधारमा माग अनुसार सावित्री, रामधान र सावा मन्सुली जातको धानको विउ वितरण गर्न सुरु गरेको हो । कृषकहरुको सहजताको शाखाले वडा ४, ५ र ७ को कृषि शाखा मार्फत र बाँकी अन्य वडाको सम्बन्धित वडा बाटै वितरण गरिएको हो ।

कृषकहरुले सावित्री २७ हजार ३ सय किलो, रामधान ४ हजार ३ सय ५ र सावा मन्सुली ३ हजार ८ सय ५० केजी गरी ३५ हजार ४ सय ५५ केजी माग गरेका थिए । अहिलेसम्म आपुर्ति भएको सावित्री धान २७ हजार ३ सय किलो वितरण भैसकेको रामपुर नगरपालिका कृषि शाखाका अधिकृत रामहरी पाण्डेयले जानकारी दिए । उनले रामधान र साँवा मन्सुली पनि एक दुई दिन भित्रमा आउने बताए । पाण्डेयका अनुसार नगरपालिकाले विगतका वर्षहरुमा मागमा आधारित रहेर बढीमा ७ टन सम्म बीउ वितरण गरेको थियो ।

तर यस पटक कृषकको सहजताको लागि वडाहरुबाटै माग संकलन भएपछि ५ गुणा बढी माग आएको थियो । कृषि शाखाका अनुसार वडा १ मा ७ सय ३५ केजी, वडा २ मा २ हजार ६ सय ९५ केजी, वडा ३ मा १० हजार ४ सय ३० केजी, वडा ४ मा ३ हजार ७ सय १० केजी, वडा ५ मा ५ हजार ४ सय ९५ केजी, वडा ६ मा ४ हजार ७ सय २५ केजी, वडा ७ मा २ हजार १ सय ३५ केजी, वडा ८ मा ३ हजार ४ सय ३० केजी, वडा ९ मा १ सय ४० केजी र वडा १० मा १ हजार ९ सय ६० केजी बीउ कृषकलाई वितरण गरिनेछ ।

सावित्री धान प्रति केजी ३३ रुपैयाँ, रामधान र साँवा मन्सुली प्रति केजी ३५ रुपैयाँमा वितरण गरिरहेको छ । कृषि शाखाका अधिकृत पाण्डेयले १२ लाख बढीको विउ वितरण भैरहेको जानकारी दिए । उनले ३५ टन बीउले झण्डै ६ सय हेक्टर क्षेत्रफलको लागि पर्याप्त हुने जानकारी दिए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले कोरोना महामारीबाट आउन सक्ने संकट न्यूनिकरणको लागि खाद्यान्नमा नगरपालिकाले विशेष जोड दिएको बताए । उनले नगरपालिकाले कृषकहरुको सहजीकरणको लागि वडाहरु प्राविधिक पनि खटाएको बताए ।

नगरपालिका आफैमा उर्वर भूमी रहेकाले खाद्यान्नमा आत्मनिर्भर गराउन नगरले मकैसंगै धान बालीलाई पनि प्रथामिकताका साथ अघि बढाएको नगरप्रमुख रमण बहादुर थापाले बताए । ‘एका तर्फ कृषि योग्य भूमी बाँझो रहने अर्को तर्फ खाद्यन्न बाहिर बाट आपूर्ति गर्नु पर्ने बाध्यता रहेको छ । स्थानीय श्रम र सीप खेर नजाओस् भनेर कृषकहरुको प्रोत्साहनको लागि कार्यक्रम ल्याईएको हो’ नगरप्रमुख थापाले भने ।

उनले जैविक मलको लागि पनि नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न लागेको बताए । रामपुर नगरपालिकाले यस अघि दुई वर्ष देखि बाँझो रहेको जमिनमा मकै खेती गर्ने कृषकलाई प्रति रोपनी ३ हजार र तरकारी खेती गर्ने कृषकलाई प्रति रोपनी ५ हजार अनुदान दिने निर्णय गरेको थियो । जस अनुसार १ हजार १ सय रोपनीको लागि निवेदन आएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update