Shittalpati
किसानको घरमै पुगेर योजना सम्झौता

रमेश विश्वकर्मा

गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरमै पुगेर योजनाहरुको सम्झौता गरेको छ । लकडाउनका कारण कृषकहरु सदरमुकाम तम्घास आउन नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई केन्द्रले उनीहरुसँग योजना सम्झौता गरेको हो । कार्यालयबाट कर्मचारीहरु घरमै आएर किसानहरुको योजनाको सम्झौता गर्दा कृषकहरु अत्यन्तै खुशी देखिएका छन् । किसानहरुले बल्ल कृषक जस्तो अनुभूति भएको बताएका छन् । कृषि ज्ञानकेन्द्रले विनियोजन गरेका सुन्तला,कागती,फलफूल मिसन कार्यक्रम र साना सिंचाई कार्यक्रमहरुको किसानको घरमै गई किसानसंग योजनाहरुको सम्झौता गरिएको ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार २० रोपनी जग्गामा सुन्तला, कागती लगाउने ९८ जना जिल्लाका कृषकहरुलाई एक लाखका दरले कार्यालयले अनुदान दिने र एक लाख किसानहरुले लगानी गर्ने गरी सम्झौता गरिएको छ । पाँचवटा दुई सय रोपनी जग्गामा कागती, सुन्तला लगाउने कृषक समूह र सहकारीहरुसँग पनि सम्झौताको क्रम चलिरहेको प्रमुख घिमिरेले बताए । दुई सय रोपनी जग्गामा कागती सुन्तला खेती गर्ने कृषकसमुह र सहकारीलाई १० लाखका दरले अनुदान दिने कार्यक्रम रहेको र उनीहरुसँग पनि सम्झौता गर्ने क्रममै रहेको ज्ञान केन्द्रले जनाएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गतका योजनाहरुको पनि कृषककै घरमै गएर सामाजिक दुरी कायम गरी सम्झौता गरिने कार्यालयले जनाएको छ । जसका लागि कार्यालयका कर्मचारीहरुको टोली विभाजन गरी फिल्डमा रहेको र कृषकसँग सम्झौता गर्ने कार्यक्रम चलिरहेको कृषि अधिकृत हरि आर्चायले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update