Shittalpati
लकडाउनका कारण फलफूल खेतीमा जुट्दै युवाहरु

पाल्पा । लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातके फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि बढेपछि यहाँका युवा सुन्तला, कागती र जुनार खेतीमा जुटेका हुन् ।
जिल्ला सदरमुकाम तानसेन आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका युवा अहिले ग्रामीण क्षेत्रमा फर्केर सुन्तला, कागती, जुनार लगायत फलफूल खेती गर्न व्यस्त देखिएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–४, छहराका कमल घिमिरे असार साउनमा रोपिने सुन्तला अहिले नै रोपिएको बताए । उनका अनुसार लकडाउन अवधिमा ६ सय सुन्तलाका बिरुवा रोपिएको छ । यसवर्ष वैशाखमा राम्रो वर्षा हुनाले पनि समय अगावै बिरुवा रोप्न अनुकूल भएको उनी बताए । वर्षा हुँदा किसानलाई खेती गर्न सहज भएको हो । रिब्दीकोट गाउँपालिका वडा ५ कुसुमखोलाका समर सुनार सुनचाँदी व्यवसायी हुनुहुन्छ । लकडाउनका कारण उनको सुनचाँदीको कारोवार बन्द छ । यस अवधिमा उनले सुन्तलाका बिरुवा रोप्न ५० भन्दा बढी खाल्डो खनेका छन् । उनी सुन्तलाको बिरुवा रोपेर आगामी वर्ष उत्पादन बढाउने योजनामा हुनुहुन्छ । चैत वैशाख सुन्तला खेतीका लागि खाल्डा खन्ने र खाल्डामा मलको व्यवस्थापन गर्ने समय हो । रैनादेवी– ५, मुझुङका नारायणबहादुर दर्नाल जिल्ला सदरमुकाम तानसेनमा सिलाई व्यवसाय गर्नुहुन्छ ।

लकडाउनको समय बढ्दै गएपछि उनले पनि अहिले नै ५० सुन्तलाका बिरुवा रोप्नका लागि खाल्डो खनेको छ । उनी यसवर्ष लकडाउनका कारण सिलाई व्यवसायबाट राम्रो आम्दानी हुन नहुने भएपछि आगामी वर्ष सुन्तला खेतीबाट प्रशस्त आम्दानी गर्न सकिनेमा ढुक्क हुनुहुन्छ । जिल्लाका सुन्तला मुख्य क्षेत्रका रुपमा परिचित रिब्दीकोट, रैनादेवी छहरा र निस्दी गाउँपालिकाका किसानले एक सयदेखि हजारसम्मका सुन्तला रोपणका खाल्डा खनेर लकडाउनलाई अवसरका रुपमा बदलेका छन् । आगामी चार÷पाँच वर्षमा सुन्तला तथा कागती उत्पादन बढ्ने देखिएको किसानको भनाई छ । –रासस

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update