राजनीति

गुरुङको संसद्मा तेस्रो यात्रा

Shittalpati Reporter

वालिङ, प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए ।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ हुन् । उनले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन् ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति भए ।

विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गरेएका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वत्रन्त्र विद्यर्थी युनियनमा नेविसङ्घकातर्फबाट प्रतिस्पर्धामा उत्रिएक थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित हुनुभएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसङ्घको सभापति बनेका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बनेका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी भएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरे । पार्टीको १२ औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भए ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताएका छन् । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

“विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो”, उनले भने, “मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।” निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएबमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उनल गरे । –रासस


प्रकाशित मिति: सोमवार, मंसिर १९, २०७९, ०४:३४:००
प्रतिक्रिया दिनुहोस्