आज विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा १९९४ देखि हरेक वर्ष अक्टोबर ५ का दिन यो दिवस मनाइँदै आइएको छ । शिक्षकको योगदान, अधिकार, जिम्मेवारी र शिक्षाको क्षेत्रमा उनीहरूले पु¥याएको अतुलनीय भूमिकाप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसर हो यो । शिक्षक केवल पाठ्यपुस्तकका विषयवस्तु पढाउने व्यक्ति होइनन्, उनीहरू विद्यार्थीको सोच, चरित्र, क्षमता र भविष्य निर्माण गर्ने मार्गदर्शक हुन् । समाज परिवर्तनको आधार शिक्षा हो भने शिक्षाको गुणस्तर निर्धारण गर्ने प्रमुख आधार शिक्षक हुन् । एउटा सक्षम, समर्पित र जिम्मेवार शिक्षकले हजारौँ विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । ज्ञानसँगै अनुशासन, नैतिकता, मानवता, सिर्जनशीलता र जिम्मेवारीको भावना विकास गराउने काममा शिक्षकको भूमिका अझ महत्वपूर्ण हुन्छ । त्यसैले शिक्षकलाई राष्ट्र निर्माणका आधारस्तम्भका रूपमा लिनु अतिशयोक्ति होइन । तर शिक्षक दिवस मनाइरहँदा शिक्षकका समस्या र चुनौतीलाई पनि गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक छ ।
पर्याप्त पारिश्रमिक, सुरक्षित र सम्मानजनक कार्य वातावरण, समयानुकूल तालिम, प्रविधिको पहुँच तथा पेशागत विकासका अवसरबिना गुणस्तरीय शिक्षाको अपेक्षा गर्नु उचित हुँदैन । शिक्षकबाट उत्कृष्ट परिणाम खोज्ने हो भने उनीहरूलाई आवश्यक स्रोत, सुविधा र सामाजिक सम्मान पनि प्रदान गर्नुपर्छ । नेपालको सन्दर्भमा अझै पनि शिक्षामा पहुँच र गुणस्तरबीचको अन्तर चुनौतीका रूपमा रहेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा शिक्षकको उपलब्धता, पूर्वाधारको अभाव, प्रविधिमा असमान पहुँच तथा शिक्षण सिकाइका बदलिँदा आवश्यकताले थप चुनौती सिर्जना गरेका छन् । यस्ता समस्या समाधानका लागि सरकार, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक छ । आजको शिक्षकले परम्परागत रूपमा केवल ‘पढाउने’ भूमिकामा सीमित भएर पुग्दैन । डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, बदलिँदो श्रम बजार र नयाँ पुस्ताका सिकाइ आवश्यकतासँगै शिक्षक स्वयं पनि निरन्तर सिक्ने र आफूलाई अद्यावधिक गर्ने अभ्यासमा लाग्नुपर्छ । वास्तवमा शिक्षकहरु राष्ट्रको भावी पुस्ताहरुको वैचारिक शिल्पको शिल्पकारहरु हुन् ।
आफ्नो ज्ञान, सीपको माध्यमले तटस्थ र स्वतन्त्ररुपमा आफ्ना विद्यार्थीहरुलाई ज्ञान दिने दायित्व बोकेका शिक्षकहरुले नै मानिसलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका छन् । जीवनलाई सहजढंगले परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षकहरुको सेवा सुविधा, मान पदवी, उत्तरदायित्व र जिम्मेवारीहरु थप गरेर उनीहरुलाई थप उर्जामय बनाउन आवश्यक छ । यसो गर्न सके मात्र विश्व शिक्षक दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

