Shittalpati
गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली

कृष्ण पोखरेल

पाल्पा, नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले गतिरोध अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका हुन् । उनले मुलुकलाई अनियर्णको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्नेमा जोड दिए ।

यस जनादेशमा जाने विषयमा प्रधानमन्त्री र केपी शर्मा ओली बिच वन टु वन वार्ता नभएपनि सरकारका प्रतिनिधीसँग यस विषयमा छलफल भईरहेको प्रवक्ता ज्ञवालीले बताए । सरकारले संघीय निर्वाचनको लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने उनले बताए । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउने दावी प्रवक्ता ज्ञवालीले गरे । अदालतको परमादेशबाट स्थापित भएको गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने उनले दावी गरे । अपवित्र गठबन्धनमा निर्माण भएको सरकारले ३ महिनासम्म मन्त्रीमण्डल गठन गर्न सक्दैन, अपवित्र गठबन्धनमै खटपट शुरु भएकाले यसको आयु लामो नभएको प्रवक्ता ज्ञवालीले बताए । गठवन्धनमा संघीयताको घोर विरोधी जनमोर्चा, र विखण्डनवादी सोच भएका ७ प्रदेशलाई टुक्राएर तराई, पहाड अलग–अलग प्रदेश बनाउनु पर्छ भनि वकालत गर्दै आएको जसपा जस्ता पार्टीको क्षणिक स्वार्थको लागि मात्र गठवन्धन भएको एमाले प्रवक्ता ज्ञवालीले बताए । उनले आउदो स्थानीय निर्वाचनमा एमालले कसैसँग गठवन्धन नगरी एकल उम्मेदवारी दिने बताए । प्रवक्ता ज्ञवालीले एमालेले उठाएका २ वटा प्रमुख माग पुरा नभएसम्म संसद अवरोध अनिश्चितकालसम्म लम्बिने चेतावनी दिए । सभामुख अग्नी सापकोटाले संविधान तथा ऐन नियम विपरित काम गरेकाले माफी मागी गल्ती नचच्चाएसम्म संसद अवरोध कायमै रहने उनले बताए सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निष्कासन गरी सूचना टास गर्नुपर्ने र कानुनी कारवाहीका लागि गल्ती भएको स्वीकार नगरेसम्म संसदमा अवरोध कायम रहने एमाले प्रवक्ता ज्ञवालीले जोड दिए ।

गठवन्धको आग्रह नेपाली काँग्रेसले एमालेलाई फुटाउन मात्र अध्यादेश ल्याएको, एमाले फुटाएपछी पुनः फिर्ता गरेको काम काँग्रेसको लोकतन्त्र विरोधी, प्रजातन्त्र विरोधी र देशमा अस्थितरता फैलाउने काम गरेको आरोप एमाले प्रवक्ता ज्ञवालीले लगाए । सरकार भारतीय सिमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हँुदै नभएको विवाद झिकेर चिनसँग निहुँ खोज्ने गरी गलत काम गरिहेको नेता ज्ञवालीले बताए । वर्तमान सरकारले हालै भष्ट्रचार अनैतिक तरिकाबाट कमाएको, कमिसन घुसखोरीबाट कमाएको रकमको उद्योगधन्दा लगानी गर्दा कुनै स्रोत नखोज्ने नितिले मुलुकलाई विश्व अर्थतन्त्रको कालोसुचीमा राख्ने गरी काम गरिरहेको एमाले प्रवक्ता ज्ञवालीले आरोप लगाए । प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षता, सचिव कृष्ण कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update