Shittalpati
आगो लगाउनेलाई जेल हाल्ने व्यवस्था गर्नुपर्छ :  नगर प्रमुख पन्थी

पाल्पा, गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जंगलमा आगो लगाउनेहरुलाई आजीवन जेल हाल्ने व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जाँउ हिंड रेसुङ्गा अभियानका लागि काठमाडौँमा पुगेका नगर प्रमुख पन्थीले सञ्चारकर्मीहरुसँगको छलफलमा जंगलमा आगो लगाउने जोसुकै भएपनि जेल हाल्ने व्यवस्था सरकारले गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय मानवीय  लापरवाहीका कारण आगलागीका घटनाहरु बढेको भन्दै त्यसलाई रोक्न आगो लगाउनेहरुलाई कडा भन्दा कडा कानुनी कारवाही गरिनुपर्ने उनले धारणा व्यक्त गरे । नगर प्रमख पन्थीले भने ‘जंगलमा आगलागी गराउने कार्य अरु अपराधभन्दा कैयौँ गुणा ठूलो अपराध हो, यसलाई रोक्न कानुन संशोधन गरेरै भएपनि आजीवन कारावासको व्यवस्था गर्नुपर्छ ।’ उनले आफ्नो नगरपालिकाका धेरै ठाउँमा आगलागी भइरहेको र नियन्त्रण गर्ने प्रयास सफल हुन नसक्दा ठूलो परिमाणमा क्षति व्यहोर्नु परेको बताए ।

नगर प्रमुख पन्थीले त्यस क्षेत्रमा आगजनी गरेको आशंका गरिएका दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र दोषीलाई कडा भन्दा कडा कारवाही गरिने समेत बताए । उनले भने, ‘आज मेरो नगरपालिकाको जंगल जलेको देखेर मेरो मन पनि दनदनी जलेको छ, आगलागी नियन्त्रणका लागि हामीले सबै प्रयास गरिरहेका छौँ, आमाबुवा, दाजुभाई दिदी–बहिनी सबैलाई संयम हुन र सतर्कता अपनाउनु आÞवान गर्दछु ।’ उनले जंगलमा आगो लगाएर रमाउनेहरुलाई पुनर्जन्ममा पनि सुख नहुने गरी पाप लाग्ने बताए । जंगलमा आगो लगाउनेहरुले मानवीय र प्राकृतिक संवेदनाको अवसान गर्न खोजेको उनको टिप्पणी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update