Shittalpati
न्यायधिस जनता : फैसला मतपत्र

विदुर घिमिरे

नेपालको राजनीतिमा एउटा सत्य पटक(पटक प्रमाणित भएको छ(जनता कहिल्यै स्थायी रूपमा कसैको हुँदैनन् । उनीहरू न कुनै दलका बन्धक हुन्, न कुनै नेताका भक्ता उनीहरू केवल आशाका यात्री हुन् । जसले आशा जगाउँछ, उसैलाई जनादेश दिन्छन्; जसले विश्वास तोड्छ, उसैलाई मतपत्रबाट सजाय पनि दिन्छन् ।

१०४ वर्षे राणा शासन र ३० वर्षे पञ्चायती व्यवस्थापछि प्राप्त प्रजातन्त्रसँग नेपाली जनताले समृद्धि, सुशासन र राजनीतिक संस्कारको सपना देखेका थिए । २०४८ सालमा काँग्रेसलाई स्पष्ट बहुमत दिए । तर सत्ता जनसेवाभन्दा गुट, घमण्ड र कुर्सीको खेलमा अल्झियो । २०५१ मा जनताले एमालेलाई पहिलो शक्ति बनाए, तर त्यहाँ पनि विभाजन, अहंकार र आन्तरिक संघर्षले जनादेशको मर्म जोगाउन सकेन । २०५६ मा फेरि कांग्रेसलाई बहुमत दिए, तर इतिहास फेरि उस्तै दोहोरियो । टुट फुट मै समय बितायो काँग्रेस ।

जनताले त्यसपछि नयाँ शक्ति खोज्न बाध्य भए । २०६४ मा माओवादीलाई देशकै सबैभन्दा ठूलो दल बनाए । त्यो केवल एउटा पार्टीको विजय थिएन, पुरानो राजनीतिक संस्कृतिविरुद्ध जनताको स्पष्ट विद्रोह थियो । तर परिवर्तनको नाराले पनि अपेक्षाअनुसार परिणाम दिन सकेन । २०७० मा फेरि कांग्रेस, २०७४ मा झन्डै दुईतिहाइ जनादेशसहित नेकपा । जनताले कसैलाई बाँकी राखेनन् । तर सत्ता फेरियो, संस्कार फेरिएन । सरकार बने, फुटे, फेरि बने । कुर्सी बदलियो, तर जनताको अवस्था उस्तै रह्यो । जनता अब बिरक्त भएर २०७९ को निर्वाचन मार्फत संकेत दिए तिमिहरुलाई यो अन्तिम मौका हो त्यहि मौकामा यति चौका हाने पुराना दलले यति धेरै प्रधानमन्त्री फे¥यो कि विद्यार्थीले एउटाको पालामा पाठ पढे, अर्कोको पालामा परीक्षा दिए र तेस्रोको पालामा नतिजा पाए । जनताले पाँच वर्ष कुर्न पनि पाएनन् ; उनीहरूको धैर्य राजनीतिभन्दा छिटो सकियो ।

अन्ततः २०८२ सालको निर्वाचनमा जनताले कुनै ठूलो घोषणा गरेनन्, कुनै आन्दोलन पनि गरेनन् । उनीहरूले चुपचाप मतदान केन्द्र पुगे, घण्टी छापमा मत खसाले र एकैपटक पुराना दलको ‘पत्तासाफ’ गरिदिने सशक्त सन्देश दिए । त्यो मत कुनै एक दलप्रतिको अन्धविश्वासभन्दा बढी पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टिको अभिव्यक्ति थियो । यसले एउटा कुरा स्पष्ट गर्‍यो नेपाली जनता उमेर होइन, ऊर्जा खोजिरहेका छन्; अनुहार होइन, चरित्र खोजिरहेका छन्; भाषण होइन, परिणाम खोजिरहेका छन् । उनीहरू भ्रष्टाचारमुक्त शासन, उत्तरदायी नेतृत्व र भविष्य देख्न सकिने नेपाल चाहन्छन् । लोकतन्त्रमा जनता नै अन्तिम न्यायाधीश हुन् । अदालतको फैसला पुनरावेदन हुन सक्छ, तर जनताको फैसला मतपेटिकामा लेखिएपछि त्यसको पुनरावेदन हुँदैन । त्यसैले नेपाली जनताले ३६ वर्षमा कांग्रेस, एमाले, माओवादीदेखि नयाँ शक्तिसम्म सबैलाई अवसर दिएर एउटा सन्देश निरन्तर दोहोर्‍याएका छन सत्ता होइन, सेवा गर; अहंकार होइन, उत्तरदायित्व देखाऊ । आजको नेपालले केवल नयाँ दल खोजेको होइन, नयाँ राजनीतिक संस्कार खोजेको हो । युवा भन्नु उमेरको अंक मात्र होइन; इमानदार सोच, स्वच्छ चरित्र, दूरदृष्टि र राष्टूप्रतिको जिम्मेवारी हो । यदि नयाँ पुस्ताले पनि पुरानै रोग बोकेर राजनीति गर्छ भने जनताले अर्को विकल्प खोज्न समय लगाउने छैनन् ।

नेपाली जनताको इतिहास हेर्दा एउटा निष्कर्ष स्पष्ट देखिन्छ ,उनीहरूले नेता कहिल्यै खोजेका छैनन्, नेतृत्व खोजेका छन्  । नेतृत्व सधैं त्यहीँ टिक्छ, जहाँ जनताको विश्वास बाँकी रहन्छ अन्य देशमा विकासको प्रयोगशाला भए झै नेपालमा राजनीतिको प्रयोगशाला भैईरह्यो यो अन्तिम प्रयोगशाला हो त्यसैले अब नेपाल प्रयोगशाला होइन नेपाललाई सुन्दर , सफा , शान्त र भ्रष्टचार मुक्त देश बनाई विकासउन्मुख देश बनाउने सपना नेपाली जनताले खोजेका छन् अधिक मतदाता ब्यक्तिगत लाभ खोजेकै छैन हाम्रो देश हाम्रो विकास प्राण भन्दा प्यारो छ मनभरि देश प्रतिको भक्तिभाव र राष्टू प्रेमले भरिएको मन लिएर आसामा आफ्नो दैनिकी बिताएको प्रस्ट सग बुझेका छन् । सबैको जयहोस् नेपालको जयहोस् हजुरको जयहोस् मेरो जयहोस् हजुरको जयहोस्  ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update