पाल्पा, जिल्लाको तानसेनमा एकदिने लायन्स नेतृत्व विकास कार्यक्रम भएको छ । लायन्स क्लब अफ श्रीनगर, लायन्स क्लब अफ तानसेन सिटी र पाल्पा रानीमहल लायन्स क्लबको संयुक्त आयोजनामा लायन्स क्लबमा आबद्ध सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत अनुशासन, प्रभावकारी सञ्चार तथा जिम्मेवारी निर्वाह गर्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

४० जना लायन्स सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाको इतिहास, वर्तमान गतिविधि, नेतृत्वको भूमिका तथा क्लबका विभिन्न औपचारिक प्रक्रिया र कार्यशैलीबारे जानकारी गराइएको थियो । लुम्बिनी प्रदेशका सभासद् तथा पूर्व स्वास्थ्यमन्त्री खेमबहादुर सारु र पाल्पा रानीमहल लायन्स क्लबका संस्थापक अध्यक्ष गंगाबहादुर खत्रीले कार्यक्रममा सहजीकरण गरेका थिए । उनीहरूले लायन्स क्लबको उद्देश्य, नेतृत्वको महत्व तथा सामाजिक सेवामा लायन्स क्लबले निर्वाह गर्दै आएको भूमिकाका विषयमा सहभागीहरूलाई जानकारी गराए । कार्यक्रममा लायन्स क्लबको इतिहासदेखि वर्तमानसम्मका गतिविधि, डेकोरम, प्रोटोकल, नेतृत्व विकास तथा सफल उद्घोषणलगायतका विषयमा प्रशिक्षण तथा सहजीकरण गरिएको थियो ।

सहभागीहरूलाई क्लबको औपचारिक कार्यक्रम सञ्चालनदेखि नेतृत्वदायी भूमिकामा आवश्यक पर्ने व्यवहारिक ज्ञान र सीपका विषयमा समेत जानकारी दिइएको थियो । लायन्स क्लब अफ श्रीनगरका भूतपूर्व अध्यक्ष राजेन्द्र लिगलका अनुसार कार्यक्रमले लायन्स सदस्यहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै क्लबका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । नेतृत्व विकासका साथै संस्थागत मूल्य, अनुशासन र प्रोटोकलको पालना गर्दै सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी बनाउन कार्यक्रम उपयोगी भएको उनले बताए ।

कार्यक्रमले क्लबहरूबीचको सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेतृत्व विकासका क्षेत्रमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको सहभागीहरुले बताएका छन् । सामाजिक सेवा, नेतृत्व विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित क्रियाशील लायन्स क्लबका सदस्यहरूलाई समयानुकूल नेतृत्व सीप प्रदान गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । लायन्स क्लब अफ श्रीनगरकी उपाध्यक्ष शिवा कार्कीको संयोजकत्वमा भएको कार्यक्रम लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष ताजेन्द्रकुमार थापाको अध्यक्षता, पाल्पा रानीमहल लायन्स क्लबका अध्यक्ष करुणा काफ्लेको स्वागत,लायन्स क्लब अफ तानसेन सिटीका उपाध्यक्ष दुष्यन्त भण्डारीको धन्यवाद ज्ञापन, लायन्स क्लब अफ श्रीनगरका सचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


