पाल्पा, पाल्पामा थुप्रै ऐतिहासिक तथा सेनकालीन पर्यटकीयस्थलहरु रहेका छन् । कयौं पर्यटकीय स्थलहरुको पहिचान हुन सकेको छैन भने पहिचान भएकाहरुको उचित प्रचार–प्रसार हुन सकिरहेको छैन । ति पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ पदयात्रा गरिएको छ । जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पा च्याप्टरले पहिचान हुन नसकेका पर्यटकीय स्थलहरुको खोजी र पहिचान भएकाहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले पाल्पामा पदयात्रा अभियान सञ्चालन गरेको छ ।
‘पाल्पाली पहिचान, सेनकालीन इतिहास’ भन्ने नारासहित नाट्टाले साउन महिनाको हरेक शनिबार पदयात्रा गर्दै आएको हो । पदयात्रामा सहभागीहरूले जिल्लाका विभिन्न सेनकालीन सम्पदाको अवलोकन गर्दै तिनको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्वबारे जानकारी लिएका छन् । उनीहरुले स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको समेत अनुभव गरेका छन् । पहिलो शनिबार साउनको २ गतेदेखि सञ्चालन भएको अभियान साउन २३ गते चौथो पदयात्रा गरिएको छ । शनिबार चौथौ पदयात्राको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् ।
उनले पदयात्राको शुभारम्भ गर्दै तानसेनको सेनकालीन पर्यटकीय क्षेत्रको विकासमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । “यहाँका आकर्षक गन्तव्यहरूको प्रचार हुन सकेको छैन,पोखरा जाने पर्यटकहरूले यहाँ रमाउन चाहन्छन्”, नगरप्रमुख श्रेष्ठले भने । आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउन यहाँका गन्तव्यहरुको उचित प्रचार गरिनुपर्नेमा उनले जोड दिए । नगर प्रमुख श्रेष्ठले तानसेनको पर्यटन विकासका लागि नगर सरकारले आवश्यक सहयोग गर्ने समेत बताए । सेनकालीन सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटन विकासलाई जोड दिँदै यस्ता पदयात्रालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
पाल्पाको पर्यटन प्रवर्धन तथा सेनकालीन पर्यटकीय महत्वका स्थानहरूको प्रचार–प्रसार गरी प्रवद्र्धन गर्न पदयात्रा गरिएको नाट्टा पाल्पाका अध्ययक्ष राजीव शाहाले बताए । उनले भने “जिल्लामा पहिचान भएका र पहिचान हुन नसकेर ओझेलमा परेका धेरै नै पर्यटकीय स्थलहरु छन्, तर तिनको खोजी र उचित प्रचार–प्रसार हुन नसक्दा अझेलमा छन्, तिनीहरुको खोजी र प्रचार–प्रसार गर्न अभियान महत्वपूर्ण हुने विश्वास लिएको छु ।” पदयात्रा केवल मनोरञ्जन होइन, सम्पदा चिनाउने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने माध्यम बन्न सक्ने पदयात्रामा सहभागी नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बताए ।
उनले पाल्पाका सेनकालीन सम्पदालाई पदयात्रासँग जोडेर प्रचार गर्ने अभियानले निरन्तरता पाएमा यसको लाभ तानसेन बजारमा मात्र सीमित नभई गाउँका घरबासदेखि स्थानीय उत्पादनसम्म पर्यटनको प्रभाव फैलिन सक्ने विश्वास लिए । इतिहासले दिएको सम्पदा र प्रकृतिले दिएको सौन्दर्यलाई एउटै पदमार्गमा जोड्न सक्नु नै पाल्पाको पर्यटनको बलियो सम्भावना भएको सभापति श्रेष्ठको भनाई छ । उनले भने “पर्यटकलाई पाल्पा ‘देखाउने’ मात्र होइन, पाल्पाको इतिहासमा हिँडाउने अभियानले जिल्लाको पर्यटनलाई नयाँ गति दिन सक्ने छ ।” पाल्पाको सेनकालीन इतिहास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा नाट्टाका सल्लाहकार धिरज बहादुर बज्राचार्यले बताए ।
चौथो शनिबार निस्किएको पदयात्राको टोली तानसेन शितलपाटीदेखि बतासेडाँडा, चण्डीभञ्ज्याङ् , भुल्के, जोर्ते, राजकुलो, अर्गली हुँदै रिडी पुगेर पुनः तानसेन फर्किएको नाट्टाका महासचिव सतिस राज शाक्यले जानकारी दिए । टोलीले साउन महिनाको प्रत्येक शनिबार जिल्लाका सेनकालीन पर्यटकीय स्थलहरुको पैदल यात्रा गर्दै आएको छ । पैदल यात्रामा पर्यटन व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि,सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न सामाजिक संघ संस्थाका व्यक्तिहरु र विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको छ ।


