Shittalpati
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो । बन्दाबन्दीपछि भैरहवा भन्सार कार्यालय हुँदै छ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सह–चालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताए । भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँंग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ । जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए ।

भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवाभन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए । सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षित साथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् । रासस

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update