Shittalpati
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री

तानसेन । जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।

कोभिड १९ को महामारीको त्रासदी बीच आफुहरुलाई सुरक्षा सामग्री लिएर अस्पताल आएका विद्यार्थी नेताहरुको अगाडि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु भावुक देखिएका थिए । कोराना जस्तो महामारीले त्रस्त भएको अवस्थामा पहिलो स्वास्थ्य सेवा दिने नर्सहरुले नर्स दिवसको अवसरमा आफुलाई सम्झेकोमा भावनात्मक रुपमा खुसी देखिएका थिए ।

महामारीका कारण भएको लकडाउनले गर्दा आजको यो दिवस आएको अनुभूति नभएको बेला हातमा मास्क र सेनिटाईजर लिएर अस्पताल पुगेका विद्यार्थी नेताहरुलाई देखेपछि नर्सहरुको अनुहारमा उज्यालो थपिएको थियो । उनीहरु भन्दै थिए यो बेलामा हाम्रो सेवालाई सम्मान गरेकोमा हामी खुसी भएका छौ । दिवसमा नेपाल विद्यार्थी संघ पाल्पाको आयोजनामा तानसेन मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालमा कार्यरत नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरे । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँगेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले, महामारीको बेला जोखिम मोलेर मानवसेवामा समर्पित नर्सहरुलाई दिवसमा सम्मान स्वरुप सम्झन पाउँदा मनमा शान्ति भएको बताए । नेपाल विद्यार्थी संघ पाल्पाका सभापति सुरेश बोहराको सभापतित्वमा भएका कार्यक्रममा नेपाली काँग्रेसको युवा नेता हिमालदत्त श्रेष्ठ लगायत नेताहरु सामूहिक सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update