Shittalpati
रामपुरमा आज १३ जनाको आरडिटी परीक्षण

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकामा बिहीबार थप १३ जनाको र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । विभिन्न जिल्लाबाट भित्रिएर क्वारेन्टाईनमा राखिएका १२ जना र होम क्वारेन्टाईनमा रहेका १ जनाको आरडिटी परीक्षण गरिएको हो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । गत वैशाख ११ गते उदयपुर, सप्तरी, रौटहटमा मजदुर लिएर गएका सवारी चालक तथा सहचालक र चितवनबाट फर्किएर बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानिअमराईको क्वारेन्टाईनमा बसेका १२ जना र कपिलवस्तुबाट वैशाख ४ गते फकिएर होम क्वारेन्टाईनमा बसेका १ जनाको परीक्षण गरिएको हो ।

उनीहरुलाई परीक्षण पश्चात क्वारेन्टाईनबाट १ हप्ता होम क्वारेन्टाईनमा बस्न सुझाव सहित विदा गरिएको छ । सबैको आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रामपुर अस्पतालका ल्याव असिस्टेन मनोज सुवेदीले बताए । रामपुर अस्पतालका ल्याव असिस्टेन्ट मनोज सुवेदी, रामपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु गिरीराज घिमिरे, तिर्थप्रसाद ढुङ्गाना, पुनम धिताल, कमला श्रेष्ठ गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेखको टोली आरडीटी परीक्षणमा खटिएको थियो ।

त्यस्तै आरडिटी परीक्षण पूर्व सुरक्षा बेस क्याम्प रामपुरको नेपाली सेनाको टोलीले डिसइन्फेक्सन स्प्रे गरेको थियो । परीक्षण कार्यमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकीय अधिकृत अषिराम आचार्य, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

रामपुर नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल मल्लका अनुसार उनीहरुलाई नगरपालिका र वडा कार्यालयको समन्वयमा एकजना भान्सेको व्यबस्था गरी खाना खुवाउने व्यवस्था गरिएको थियो । यसअघि बालकल्याण प्राथमिक विद्यालयबाटै १८ जनाको आरडिटी परीक्षण भएको थियो । बिहीबार १३ जनाको परीक्षण भएसंगै आरडीटी परिक्षण गर्नेको संख्या ३१ पुगेको छ । रामपुर नगरपालिकाको वडा ४, ९ र १० लगायतका वडाहरुले निर्माण गरेको क्वारेन्टाईनमा अझै १७ जना रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update