Shittalpati
निस्दीमा ३९ जनाको आरडिटी परीक्षण

इमान सिं राना
पाल्पा (रामपुर) । निस्दी गाउँपालिकामा हालसम्म ३९ जनाको र्‍यापिड डाईगोनोष्टिक टेष्ट आरडिटी परीक्षण गरिएको छ । केही दिन अघि क्वारेन्टाईनमा बसेका १२ जनाको परीक्षण गरिएकोमा बुधबार थप २७ जनाको परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न स्थानबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी टेस्ट गरिएको थियो । परीक्षण पश्चात रिपोर्ट नेगेटिभ आएका २७ जनालाई पालिकाले घर पठाएको छ ।

परीक्षण गरिएका मध्ये सरस्वती मावि निस्दी ५ गल्धामा १० जना, गौरीशंकर मावि निस्दी ४, मित्यालमा ४ जना र जनप्रिय मावि निस्दी ७ ज्यामिरेमा १३ जनाको परीक्षण गरी घर पठाईएको छ । उनीहरुलाई गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले धन्यवाद पत्र प्रदान गर्दै एक हप्ता होम क्वारेन्टाईनमा बस्न आग्रह गरेकी थिईन् ।

यस्तै निस्दी गाँउपालिकामा अहिले गौरीशंकर मावि मित्यालमा बुधबार काठमाडौंबाट आएका १ जना र चितवनबाट आएका २ जना गरी ३ जनालाई क्वारेन्टाईनमा राखेको छ । यससंगै निस्दी गाँउपालिकामा अहिले ५९ जना क्वारेन्टाईनमा बसेका छन् । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरणका लागि निस्दी गाँउपालिकाले अन्य छिमेकी जिल्लाबाट आएकालाई समेत अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update