Shittalpati
स्वास्थ्य सामग्री हस्तान्तरण

बुटवल । कोभिड–१९ महामारीका विरुद्ध उपचारत चिकित्सक स्वास्थ्य सामग्री जोहो गर्ने काममा पनि केन्द्रित भएका छन् । राष्ट्रिय चिकित्सक संघमा आबद्ध रुपन्देहीका चिकित्सकले चीनको कान्तु प्रान्तसँगको सहकार्यमा जुटाएको स्वास्थ्य सामग्री मंगलबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन् । संघ लुम्बिनी शाखाले प्रदेश नं ५ सरकार, सामाजिक विकास मन्त्रालयलाई सामग्री हस्तान्तरण गर्दै चिकित्सकतथा स्वास्थ्यकर्मीको मनोबल बढाइदिन आग्रह गरेको छ ।

सामाजिक विकासमन्त्री सुदर्शनबराललाई कान्तु प्रतिनिधि डा. होङ हाङ, चिकित्सक संघका महासचिव डा.सागर न्यौपाने, केन्द्रीय सदस्य डा.सम्राट पराजुली र संघका शाखाका महासचिव डा.सन्तोष पोखरलले उक्तसामग्री हस्तान्तरण गरेका थिए । बीस हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरिएको र थप सामग्री जुटाउने काम जारी रहेको डा न्यौपानेले जानकारी दिए । त्यस अवसरमा मन्त्री बरालले चीन सरकारले विश्व समुदायमा देखाएको उदारता रसहयोग उच्च रहेको बताए ।

यसैबीच चिकित्सकले स्वास्थ्योपचारमा खटिएका सबै स्वास्थ्यकर्मीको मनोबल बढाउन र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् । उनीहरुले संघ मार्फत सामाजिक विकासमन्त्री बराललाई त्यस सम्बन्धी ज्ञापनपत्र समेत बुझाएका छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न क्वारेन्टाइन, आइसोशलन र अस्पतालमा संक्रमित भएका र आशंका गरिएकाको परीक्षणका लागि खट्नुपर्ने सबै स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको हो ।  –रासस

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update