Shittalpati
पाल्पाका पत्रकारको आँखा जाँच

पाल्पा, पाल्पाका पत्रकारको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारको निःशुल्क रुपमा आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा बिहीबार तानसेनमा आँखा जाँच गरिएको छ । आँखा अस्पताल तानसेनमा भएको शिविरमा ३३ जना पत्रकारको आँखा जाँच गरिएको महासंघले जनाएको छ । अधिकांश पत्रकारहरुको आँखा कमजोर देखिएको अस्पतालले जनाएको छ ।

पत्रकारहरु धेरै जसो समय कम्प्युटर, ल्यापटप तथा मोवाइमा बसेर काम गर्नुपर्दा आँखा कमजोर देखिएको अस्पतालका व्यवस्थापक सन्तोष दर्जीले बताए । उनका अनुसार धेरै पत्रकारमा आँखा कमजोर भएको, आखा धमिलो भएको, सुख्खा र केही दृष्टि दोष जस्ता समस्या देखिएको छ । उनीहरूलाई आँखाको अवस्थाको वर्गीकरणका आधारमा चस्मा प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् । जसमा २४ वटा चश्मा र औषधी वितरण भएको छ ।

शिविरमा नेत्र सहायक सन्तोष दर्जी, रामनारायण सिंह, प्राविधिक शम्भु आचार्यले सहजीकरण गरेका थिए । शिविर कार्यक्रममा नेपाल नेत्र ज्योती संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले पत्रकार महासंघ र संघ बिच भएको सहकार्य आगामी दिनमा पनि निरन्तर चलिरहने बताए । पत्रकार महासंघ पाल्पासँग आगामी दिनमा सामाजिक सेवाको क्षेत्रमा एक आपसमा सहकार्य गरी काम गर्ने समेत उनले बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले नेत्र ज्योती संघले पत्रकारहरुको आँखा परीक्षण गरी आँखा जोगाउने काम गरेको बताए । पत्रकारहरु नियमित काममा खटिनु पर्ने, कामको शिलशिलामा आँखा जाँच गर्न नभ्याएको समयमा शिविर निकै प्रभावकारी भएको अध्यक्ष रानाले बताए ।

शिविरले आँखा जस्तो संवेदनशील विषयप्रति थप सचेत बनाएको महासंघका उपाध्यक्ष भरत शर्माले बताए । उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरूको दिनचर्या प्रविधिसँग बित्ने हुँदा आँखामा समस्या देखा परेको हुन सक्छ, त्यसलाई शिविरले केही हदसम्म भएपनि सचेत बनाएको छ ।’ शिविरमा उत्साजनक रुपमा पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव यज्ञमुर्ति तिमिल्सीनाले बताए । यस अघि आँखा उपचार सम्बन्धी जनचेतना फैलाउने र पत्रकारका लागि निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने सम्बन्धमा नेत्रज्योति संघ र पत्रकार महासंघबीच सम्झौता भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update