Shittalpati
हेफरले दियो पशु स्वास्थ्य प्राविधिकलाई तालिम

पाल्पा, समुदायतहमा कार्यरत पशु स्वास्थ्य प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको छ । हेफर प्रोजेक्ट इन्टरनेशल नेपालले पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु र रुपन्देही जिल्लाका समुदायतहमा कार्यरत प्राविधिकहरुलाई ‘एक स्वास्थ्य अवधारणा’ विषयक तालिम दिएको हो । बुटबवलमा भएको तालिम दुुई दिनसम्म चलेको थियो ।

मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यको अन्तर्निहित सम्बन्ध रहेको छ । त्यही सम्बन्धको प्रभावकारी सञ्चारको महत्व र योसँग सम्बधित विभिन्न पक्ष र जुनोटिक रोग (मानिस र पशु बीच सर्ने संक्रामक रोग) बारे ग्रामीण क्षेत्रका कृषकहरु माझ प्राविधिक ज्ञान पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको हेफर ईन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयूले बताए ।

उनले भने ‘जनस्वास्थ्यको क्षेत्रमा कार्यरत अमेरिकी सरकारी निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ का अनुसार मानिसमा लाग्ने करिब ६० प्रतिशत संक्रामक रोगहरु जनावरबाट सर्दछन् । हाल मानिसमा संक्रमण गर्ने नयाँ उत्पत्ति भएका करीब ७५ प्रतिशत संक्रामक रोगहरु जनावरबाट मानिसमा सर्ने गर्दछन् । जनावरबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी गराउँदै संक्रामक रोगहरु कम गर्न तालिमको आयोजना गरिएको हो ।’

गत वर्षदेखि हेफरले परियोजना सञ्चालन भएका जिल्ला तथा स्थानीय तहका सरोकारवाला निकायहरु तथा आम कृषकहरुलाई एक स्वास्थ्य तथा जुनोटिक रोगको बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत मदन पौडेलले बताए ।

तालिममा २० जना प्राविधिकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई मानव र वातावरणिय स्वास्थ्य सुधारका लागि एक स्वास्थ्य अवधारणा र जुनोटिक रोगको बारेमा प्रशिक्षण दिइएको थियो । आफ्नो क्षेत्रका पशुपालक कृषकलाई बुझाउन र समस्या समाधान गर्न तालिम महत्वपूर्ण रहेको तालिममा सहभागी प्राविधिक शंकर कडरियाले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update