Shittalpati
एक सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

पाल्पा, एक सय ७९ वित्तिय संस्थाहरुको लाइसेन्स खारेज भएको छ । मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले एक सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली जारी गरेको थियो । नियमावली जारी भएयता ०७९ असोजसम्म कुुल २ सय ४७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १ सय ७९ संस्थाहरुको इजाजत पत्र (लाइसेन्स) खारेज हुन गई ६८ संस्था कायम भएको राष्ट्र बैंकले जनाएको छ । अहिले पनि आधा दर्जन बढी वाणिज्य बैंक र डेढ दर्जन लघुवित्त वित्तीय संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा छन् । ती संस्थाहरुको मर्जर पूरा भएपछि थप वित्तीय संस्थाको लाइसेन्स खारेज हुनेछ ।

यस्तै, मर्जरमा जाने संस्थाले पाउँदै आएको सुविधालाई राष्ट्र बैंकले आउँदो पुस महिनासम्म पनि निरन्तरता दिएको छ । वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्था एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्ति सम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने घोषणा मौद्रिक नीतिमा गरिएको छ । यस्तै, पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित नीति पनि राष्ट्र बैंकले अघि सारेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update