Shittalpati
तानसेनका उपभोक्तालाई विद्युत महशुल निःशुल्क

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई विद्युत महशुल निःशूल्क गरेको छ । तानसेन नगरपालिकाले ११ औं नगरसभाबाट नगरपालिका भित्रका २० युनिटसम्म विद्युत उपभोग गर्ने उपभोक्तालाई विद्युत महशुल निःशूल्क गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो । नगरसभाले गरेको निर्यणलाई कार्यविधी बनाई सम्झौता पत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण शाखाका प्रमुख विवेक अधिकारीले हस्ताक्षर गरी कार्यान्वयनमा आएको हो ।

विद्युत महशुल निःशूल्क गर्ने सम्झौतापत्र तानसेन नगरपालिका निमित्त कार्यवाहक नगर प्रमुख प्रतिक्षा सिंजाली र नेपाल विद्युत प्राधिकरण पाल्पाका प्रमुख विवेक अधिकारी बिच आदान–प्रदान भएको छ । यो सम्झौता २०८० साल अषाढ मसान्तसम्म लागु हुने छ । नगरका १४ वटै वडाका १ हजार ८ सय १५ जना उपभोक्तालाई २० युनिटसम्मको विद्युत महशुल निःशूल्क हुने छ । विद्युत प्राधिकरणले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई न्यूनत मासिक ३० रुपैयाँ लिदै आएको तानसेन नगरपालिकाले ३० रुपैयाँ समेत तिरि दिने व्यबस्था गरेको हो । नगरपालिकाले वार्षिक रुपमा एक जना उपभोक्ता बराबरको ३ सय ६० रुपैयाँका दरले एकमुष्ट रुपमा विद्युत प्राधिकरण पाल्पालाई १ हजार ८ सय १५ जनाको ६ लाख ५३ हजार ४ सय रुपैयाँ अग्रीम रुपमा भुक्तानी गर्ने छ । नगरपालिकाले वडागत रुपमा सार्वजनिक सूचना गरी २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरुको नामावली संकलन गरेको थियो । विद्युत महशुल निःशूल्क सुविधा पाउनेहरुमा वडा नंं १ बाट ९ जना, वडा नंं २ बाट १ जना, वडा नंं ३ बाट ४ जना, वडा नंं ५ बाट १ सय ६५ जना, वडा नंं ६ ४० जना, वडा नंं ७ बाट ४१ जना, वडा नंं ८ बाट ३ सय ४५ जना, वडा नंं ९ बाट १ सय ६३ जना, वडा नंं १० बाट ६८ जना, वडा नंं ११ बाट ४ सय ८२ जना, वडा नंं १२ बाट ३ सय २६ जना, वडा नंं १३ बाट १ सय २५ जना र वडा नंं १४ बाट २१ जना उपभोक्ता रहेका छन् ।

कार्यक्रममा तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सिंजालीले नगर भित्र रहेका अति गरिव विपन्न परिवारका लागि विद्युत महशुलमा पूर्ण निःशूल्क गरिएको बताईन् । कार्यक्रममा नगर प्रवक्ता यादव सिंह कार्कीले सबै वडाबाट कोही पनि २० युनिटसम्म विद्युत महशुल खपत गर्ने उपभोक्ताहरु नछुटुन भनि वडा वडामा अभियान नै चलाएको, छुट्का भएका लाई आगामी बर्षबाट समेट्ने बताए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पाल्पा शाखाका प्रमुख विवेक अधिकारीले पाल्पामा ३८ हजार ग्राहक रहेकोमा २५ हजार ग्राहक २० युनिट भन्दा कम खपत गर्ने उपभोक्ता रहेको बताए । आगामी दिनमा ग्राहकहरुलाई सजिलो बनाउन जिल्लाको ३ स्थान, तानसेन, आर्यभञ्ज्याङ र हार्थाेकमा विल भुक्तानी शाखा सञ्चालनको तयारीमा रहेको शाखा प्रमुख अधिकारीले बताए । नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले कार्यक्रमको उद्देश्य र नगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराएका थिए । कार्यक्रम सामाजिक विकास अधिकृत भरत आचार्यको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update