Shittalpati
काँग्रेस नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री

पाल्पा, जिल्लामा नेपाली काँग्रेसका स्व. नेताहरुको स्मृतिमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा सांसद् गम्भीरजंग कार्की र नेपाली काँग्रेस तानसेन नगरका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व चकोरमान शाक्यको स्मृतिमा जिल्लाका स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्रिय मगर संघ र नेपाल महिला संघ पाल्पामार्फत स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक तथा नेपाली काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद् कार्कीका छोरा डा. अनुजजंग कार्कीले बुबाको स्मृतिमा रम्भा गाउँपालिकाको ताँहु स्वास्थ्यचौकीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् । कार्कीले सहयोग गरेका मास्क, स्यानिटाइजर, ग्लोवस, पिपिइ लगायतका स्वास्थ्य सुरक्षा सामग्री नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाले राष्ट्रिय मगर संघका जिल्ला अध्यक्ष झमनराज मगरमार्फत ताँहु स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । त्यस्तै नेपाली काँग्रेस तानसेन नगर समितिका पूर्व सभापति तथा सामाजिक व्यक्तित्व स्व.चकोरमान शाक्यका छोरी ज्वाई जितेन्द्र बज्राचार्य, सुरेन्द्र आलेले दिएको स्वास्थ्य सुरक्षा सामग्री छोरी सन्ध्या शाक्यले नेपाल महिला संघ पाल्पामार्फत तानसेन नगर भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीहरुका लागि हस्तान्तरण गरेकी छन् । शाक्यले महिला संघकी जिल्ला सभापति गंगा पौड्याललाई उक्त स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेकी हुन् ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update