Shittalpati
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा

पाल्पा,जिल्लाको बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । बस्यालको सहयोग र मालारानी कृषि तथा पशुपंछी सहकारी संस्थाको समन्वयमा सहकारीमा आवद्ध बगनासकाली गाउँपालिका –९ चापपानीका किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।

सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी सहकारीमा आवद्ध १३ जना विपन्न वर्गका सदस्यहरुलाई एक/एक वटा माउ बाख्रा तथा पाठीहरु पैँचोको रुपमा वितरण गरेको छ । बाख्रा खरिदमा सहयोग गर्ने पालिकाका निवर्तमान अध्यक्ष कृष्ण बस्यालले सहकारीमा आवद्ध सदस्य किसानहरुलाई बाख्रा वितरण गरेका हुन् । उनले पालिका अध्यक्ष भएका बेला आफुले पाएको पारिश्रमिकबाट सामान्य आय भएका किसानहरुलाई व्यवसायिक रुपमा लाग्न उत्प्रेरण प्रदान गर्ने उद्देश्यले बाख्रा खरिदमा आर्थिक सहयोग गरेका थिए । बस्यालले तत्कालिन समयमा ५० हजार आर्थिक सहयोग गरी सहकारीमार्फत अभियान सुरु गरिएको थियो ।

बाख्रा हस्तान्तरण गर्दै प्रमुख अतिथि समेत रहेका बस्यालले व्यवसायिक रुपमा बाख्रापालन गरी आयआर्जनमा वृद्धि गर्न किसानहरुलाई आग्रह गरे । उनले आम्दानीको राम्रो माध्यम पशुपालन र कृषि भएकाले त्यसलाई व्यवसायिक रुपमा अंगाल्नुुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका बस्यालले आफु पदमा हुँदा र नहुँदा स्थानीय क्षेत्र र नागरिकको सहयोगमा सधैव क्रियाशिल रहेको धारणा व्यक्त गरे । बस्यालले पालिका अध्यक्ष भएका बेलामा स्थानीय सरकारमार्फत पनि किसानहरुको आयआर्जनका उल्लेखीय कार्यक्रमहरु ल्याएका थिए । उनले त्यतिबेला आफुले पालिकाबाट पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा खर्च गरे । कतिपय जनप्रतिनिधिहरुले तलवबाट मात्रा नपुगेर गाउँपालिकामा हुने योजना, कार्यक्रमका लागि छ्ट्याइएको रकम समेत हिनाविन गरी भ्रष्टाचार र अनिमियता गरेका समाचार आइरहेका बेला उनले भने आफुले पाउँदै आएको पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेर उदारणीय काम गरेका थिए । बस्यालले तलवबाट गाउँपालिकाका भित्र रहेका विपन्न वर्गका विद्यार्थीहरु, बोटे समुदायका गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा समेत खर्च गरेका थिए ।

मालारानी सहकारीले उनै बस्यालमार्फत प्राप्त गरेको आर्थिक सहयोगबाट विगत ४ वर्षदेखी बाख्रा पैँचो कार्यक्रम सञ्चालन गर्दै आएको हो । विपन्न वर्गका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन हरेक वर्ष पैँचो अभियानको रुपमा बाख्रा वितरण गर्दै आएको सहकारीका अध्यक्ष चिन्तमणी बस्यालले बताए । अध्यक्ष बस्यालका अनुसार सुरुका वर्षहरुमा प्रत्येक वर्ष पाठी अर्को सदस्यलाई फिर्ता गर्नुपर्ने थियो । २०७७ सालदेखी २/२ वर्षमा आफुले लगेका बाख्राबाट जन्मेका एक/एक वटा पाठी फिर्ता गर्नुपर्ने सहकारीले नियम बनाएको छ । सहकारीले २०७५ मा पहिलो पटक बाख्रा पैँचो दिएको थियो । १० वटा बाख्राबाट सुरु गरिएको कार्यक्रम मागमा आधारित बनाईएको छ । बाख्रा पालन गर्न ईच्छुक सदस्यहरुले माग गरेअनुसार सहकारीले रकम थप गरी माग पूर्ती गर्दै आएको छ । यस पटक १० जनाले बाख्रा फिर्ता ल्याएका थिए भने १३ जनाले पुुनः पैँचोको रुमा बाख्रा लगेका हुन् । स्थानीय सीतादेवी घिमिरेका अनुसार सहकारीका सदस्यहरुलाई यो कार्यक्रमले आयआर्जनको बाटोमा लाग्न प्रेरणा मिलेको छ । सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले व्यवसायिकमूलक कार्यक्रमलाई प्रथामिकतामा राखेर काम गर्दै आएको सहकारीका जीवलाल बस्यालले बताए । पैँचोेमा बाख्रा पाए पछि किसान समेत उत्साहित भएका छन् ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update