Shittalpati
सवारी दुर्घटना चिन्ताको विषय

दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेको छ । दुर्घटनाले नेपालको सडक सुरक्षा अन्य देशहरुको तुलनामा कमजोर भएको देखाउँछ । ट्राफिक नियम पालना गर्न सहयोग पु¥याउने, सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्ने, पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकको सुरक्षाका सम्बन्धमा काम गर्ने भनेर हामीकहाँ धेरै संघ–संस्था खुलेका छन्, तर दुर्घटना र मृत्यु हुनेको संख्या रत्तिभर घटेको छैन, बरु दिनप्रतिदिन बढेको देखिन्छ । यो अत्यन्त दुुखको कुरा हो । सडकको प्रयोगमा लापरवाहीका कारण कैयौँ दुर्घटना भएका हुन्छन् । नेपालमा दिनहुँजसो भइरहने सडक दुर्घटनाका कारण ज्यान गुमाउने र अङ्गभङ्ग भई शारीरिकरुपमा बाँच्न बाध्य हुनेको संख्या बर्सेनि बढ्दो छ । बर्सेनि हजारौँ मानिसले ज्यान गुमाउनुपर्ने नियतिले दुर्घटनाका जोखिम न्यूनीकरण गर्ने चुनौती बढेर गएको छ । दुर्घटना एउटा दुःखद् संयोग र भवितव्य भए पनि यसका कारण मिहिन ढङ्गले केलाउन जरुरी छ । किन दिनहुँ दुर्घटना बढिरहेको छ ? ट्राफिक प्रहरीले किन दुर्घटना न्यूनीकरण गर्न सकेको छैन ? भन्ने सवालमा अब ढिला नगरीकन कारकहरुको खोजी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने दुईपाङ्ग्रे सवारीसाधनको संख्या अत्यधिक रहेकाले पाल्पामा बर्षेनि सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सबै सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटना बढी देखिएको छ । सवारीसाधनको बढ्दो चाप, सडकको दुरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलना, मादकपदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेकोमा दुईमत हुन सक्दैन । हरेक दुर्घटनाको अनुसन्धानका क्रममा चालकको लापरवाही र साँघुरो सडकलाई नै दुर्घटनाको प्रमुख कारण मानिएको छ । तर, अब चालकको लापरवाहीलाई मात्रै कारण मानेर दुर्घटनाको निष्कर्ष निकाल्नु गलत पनि हुनसक्छ । यातायातका साधनको दुर्घटनाको प्रवृति र बढ्दो क्रमलाई पनि अनुसन्धान गर्न सकिए जोखिम न्यूनीकरण गर्न सहज हुन्छ । किनभने, हरेक दुर्घटनाका पछाडी केही न केही कारण पक्कै जिम्मेवार हुन्छन् । तर, ट्राफिक प्रहरीले सडकको अवस्था र चालकको लापरवाहीलाई नै दुर्घटनाको कारण मान्ने र चालक र यातायात व्यवसायी भने सरकारी नीतिलाई दोष दिने गर्छन् । यी दुवै आरोप प्रत्यारोपबीच केही सत्यता पनि पक्कै छन् । दुर्घटना जे जति कारणले भए पनि यो एउटा चिन्ताको विषय बनेको छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर चिन्तन, मनन् गर्नु अहिलेको आवश्यकता हो । यसर्थ सम्पूर्ण सरोकारवाला निकायहरुले यसतर्फ ध्यान दिन सके केही हदसम्म भए दुर्घटना कम गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update