लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
विचार
स्वस्थानी व्रतकथाको समाप्ति र शिक्षा

पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएकोे श्रीस्वस्थानी व्रत कथाको समाप्ति आज हुँदै छ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरी यो पर्व मनाउने गर्दछन् । एक वर्षका लागि श्री स्वस्थानी परमेश्वरीको पुस्तक विसर्जन गरिदै छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुले एकछाक चोखो खाई एक सय आठ पान, एक सय आठ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो फलानो इच्छा, आकांक्षा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । यसरी विधिपूर्वक महिनादिनसम्म स्वस्थानीदेवीको पूजा आराधना गर्नाले मनोकांक्षा सिद्धि हुने र यस लोकमा सुखसम्पत्ति पाई परलोकमा समेत मोक्ष प्राप्त हुने कुराको उल्लेख स्कन्दपुराणको केदारखण्ड र माघमाहात्म्य, पद्मपुराण आदि ग्रन्थले गरेका छन् । यो व्रत बस्नाले सुखशान्ति समृद्धि मिल्नुका साथै रोगब्याधी पनि नष्ट हुने विश्वास गरिन्छ ।
थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जनविश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा ब्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गदै बालबालिका बारे जनचेतना फैलाएको छ । संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुष बीचको लैङ्गिक समानताको वकालत पनि यसले गरेको छ । श्री स्वस्थानी व्रत कथाका केहि सन्दर्भ उठाएर सनातन धर्मको आलोचना नभएको भने हैन तर पनि मानिसलाई आध्यात्मिकतर्फ लैजान स्वस्थानी व्रत कथाले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । स्वस्थानीको सार भनेको सनातनलाई स्वीकार गर्नु, कपट नगर्नु, आपसमा मिलेर बस्नु, मिलेर काम गर्नु, मिलेर आर्जन गर्नु, समाजमा र आपसमा केही अनमेल भए आपसमा मिलाउनु, निष्ठाको रक्षा गर्नु, युद्धमुखी नहुनु, कल्याणकारी बाटोमा लाग्नु, प्रकृतिको रक्षा गर्नु आदि हो । सहभागितामुखी संस्कृतिको विकासमा स्वस्थानी व्रतकथाको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । कथा सुन्नुको प्रयोजन यथार्थ बुझ्ने र उचित शिक्षा लिने हो, जस्ताको तस्तै नक्कल गर्नु र विगतलाई सत्तोसराप गर्नु चाहि उचित होइन ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!