Shittalpati
पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको  तार !

रामचन्द्र रायमाझी

पाल्पा, गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।

हस्तिचौर सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिमार्फत सञ्चालनमा आएको विद्युत लाईन पोल नहुँदा कतै हरियो रुख त कतै सुकेका बास गाँडेर लाईन उपभोक्ताको घर–घरमा पुर्‍याइएको छ । पूर्व उर्जा मन्त्री समेत भइसकेका विष्टको क्षेत्रमै विद्युतका लागि आवश्यक पोल नहुँदा स्थानीयले जोखिम मोल्नु परेको छ । हरेक पटकको चुनावमा क्षेत्र नं. २ को विकासका लागि चुनावी नारा बनाउदै आएका विष्टले आफु उर्जा मन्त्री हुँदा समेत यहाँको विद्युतको विस्तार तथा व्यवस्थापनमा ध्यान नदिदा यहाँका अधिकांस स्थानमा विद्युत अस्तव्यस्त बनेको स्थानीयको आरोप छ ।

उता पूर्व उर्जा मन्त्री विष्टले भने आफु उर्जा मन्त्री भए्पछि गुल्मीका सबै ठाउँमा विजुली बत्ति बलेको बताए । उनले भने‘ विजुुली नपुुगेका स्थानमा विद्युत पुुर्‍याउन पहल गर्ने काम सासंदको हो, तर एउटा, दुुईटा पोल नपुुगेर रुखमा तार टाँगिएको विषय सांसदले हेर्ने होइन ।’ विष्टले एक, दुुई स्थानमा त्यस्तो समस्या भए पनि समग्रमा क्षेत्र नं २ को विद्युतीकरण राम्रो रहेको दावी गरे । उनले भने‘ विद्युत व्यवस्थापनमा देखिएको समस्या उपभोक्ता समिति र विद्युत प्राधिकरणले नै समाधान गर्ने हो, यसमा सांसद्ले गरेन भन्नु गलत हो ।’

यता उपभोक्ता समितिले भने पोल नभएको बहाना बनाउदै त्यसको वेवास्त गरेको पाइएको छ । हरियो रुखबाट विजुलीको तार टाँगिएपछि यहाँका स्थानीय त्रासित भएका छन् । आफ्नै घर माथिको हरियो सालको रुखमा विजुलीको तार टाँगिएकाले घाँस दाउरा गर्न जाँदा जोखिम मोल्नु परेको स्थानीय भिमलाल बेल्वासेले बताए । उनले भने‘ पटक–पटक प्राविधिकहरुलाई रुखबाट तार हटाउन अनुरोध गरियो तर अहिलेसम्म पनि सुनुवाइ भएको छैनन् ।’ बेल्वासेका अनुसार यहाँ केही समय पहिला तार भुइमै लत्रिएको अवस्थामा रहेको थियो । स्थानीयले पटक–पटक आग्रह परेपछि प्राविधिकले तार सालको रुखमा टाँगेको स्थानीय बेल्वासेले बताए । ‘तार भुईमा हुँदा पनि जोखिम नै थियो अहिले पनि हरियो रुखबाट लैजाँदा पनि जोखिम नै छ’ उनले भने । काँचो रुखमा टाँगिएको तारका कारण खतरा रहेको स्थानीय हरि आचार्यले बताए । उनले भने ‘ यस क्षेत्रबाट पटक–पटक गोकर्ण विष्ट सांसद र मन्त्री भए तर यहाँका नागरिकले एउटा पोल समेत नपाएर ज्यान जोखिममा राख्नु दुखद् हो ।’ उक्त तारको वरिपरि रहेको खेतबारीमा काम गर्न समेत खतरा रहेको भन्दै उपभोक्ता समितिलाई अनुरोध गर्दा समेत वेवास्ता गरेको स्थानीयले बताए ।

यता उपभोक्ता समितिका अध्यक्ष कृष्ण रायमाझीले भने हरियो रुखबाट तार टाँगिएको जानकारी आफुलाई नभएको बताए । उनले पोल नहुँदा केही ठाउँहरुमा समस्या भए पनि हरियो रुखबाट भने तार नलगिएको बताए । अध्यक्ष रायमाझीले भने‘उपभोक्ता समितिसँग भएको सिमित आम्दानीले पोल खरिद गर्न सकिएको छैन्,हामीसँग ८ सय काठका पोल छन् । ति मध्ये अधिकांस पोल जिर्ण छन् ।’ काठका पोल हटाएर स्टिलका पोल राख्ने काम गरिए पनि रकम अभावमा सबै ठाउँमा नसकिएको उनले बताए । स्टील पोलका लागि प्रत्येक उपभोक्ताबाट ५ सयका दरले केही रकम उठाए पनि त्यो प्राप्त नहुँदा पोल खरिद गर्न नसकिएको अध्यक्ष रायमाझीको भनाई छ । यसअघिको एमाले नेतृत्वको स्थानीय सरकारले समेत बेवास्ता गर्दा विद्युत सञ्चालनमा समस्या आएको उनले बताए । पटक–पटक स्थानीय सरकारलाई पोल व्यवस्थापन गरिदिन आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको अध्यक्ष रायमाझीको भनाई छ । अहिले नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले भने विद्युत व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । पालिकाले वडा नं १, २ र ६ मा काठका पोल हटाई स्टीलका पोल राख्नका लागि सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत २० लाख बजेट विनियोज गरेको पालिका अध्यक्ष भगतसिं खड्काले बताए । उनले पोल नभएर तार रुखमा झुण्ड्याएर राख्नु पर्ने र तार जथाभावी रुपमा अव्यवस्थित भएको विषयलाई निस्तेज पार्न पालिकाले नेपाल विद्युत प्राधिकरणसँग समन्यव गरेको बताए ।

लाइन अवरुद्ध भएका बेला आकस्मिक रुपमा लाईन सञ्चालन गर्न आफुहरुले सर्तकता अपनाई जस्तो सुकै उपाय भए पनि अपनाउनु परेको प्राविधिक सुरज रेस्मीले बताए । उनले भने‘ पोल राख्नु पर्ने ठाउँमा पोल नभएपछि लाईन सञ्चालनमा ल्याउनकै लागि भए पनि रुखहरुमा तार झुड्याउन बाध्य हुनु परेको छ । जसरी हुन्छ लाइन सञ्चालनमा ल्याउनुपर्ने छ ।’ बयस्कोटामा पोलको आवश्यक भए पनि त्यहाँ नहुँदा रुखमा तार टाँग्नु परेको प्राविधिक रेस्मीको भनाई छ । यहाँ उपभोक्ताको २० प्रतिशत र संघीय सरकारको ८० प्रतिशत लगानीमा विजुली ल्याइएको हो । यहाँका १ हजार २ सय ९५ घर परिवारले विजुली उपभोग गर्दै आएका छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update