Shittalpati
रुपन्देहीमा तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही, निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा उम्मेदवार बन्न अयोग्य देखिएकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हुन् । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य देखिएको विज्ञप्तिमार्फत जानकारी गरएको छ । उक्त दफामा ‘कालोसूची’मा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुने उल्लेख छ ।

आयोगले गुरुङ कालोसूचीमा रहनुको विस्तृत कारण नखुलाए पनि उनीविरुद्ध अदालतले बैंकिङ कसुरमा जरिवाना गरेको, तर भुक्तानी नगरेकाले उम्मेदवार बन्न अयोग्य ठहर गरेको हो । उम्मेदवार गुरुङ आफँै अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मङ्सिर २१ गते फैसला गरेको थियो । यस्तै आयोगले हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसालको उम्मेदवारी पनि खारेज गरेको छ । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमद्वारा मंगलबार राति जारी सूचनामा गुरुङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्याल प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले निज उम्मेदवारको मनोनयन खारेज हुने उल्लेख छ ।

एमालेका ३१ जनाले दिए राजीनामा

नेकपा एमालेबाट ३१ जना नेता–कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update