Shittalpati
गाउँघरमा बज्नै छाडे सहनाई

स्याङ्जा, गाउँघरमा बजाइने सहनाई बाजा हिजोआज बज्न छाडेका छन् । पुराना पुस्ताले सहनाई बाजाको राग बिर्सदै गएका छन् भने नयाँ पुस्ताले सहनाई बाजाको महत्व र राग बुझ्नै पाएका छैनन् । विभिन्न शुभ कार्य होस् वा धार्मिक कार्य नेपाली संस्कृतिमा बाजाको महत्वपूर्ण भूमिका रहन्छ । पञ्चैबाजा अन्र्तगत पर्ने सहनाई, दमाहा, झ्याली, ट्याम्को र ढोलकी नेपाली धार्मिक तथा सांस्कृतिक बाजाको रुपमा लिइन्छ । चाडवाड, विवाह, ब्रतबन्ध, जात्रा, रोपाई, पूजा तथा सामाजिक उत्सवका बेलामा पनि यी बाजाहरु बजाइने गरिन्छ ।

एक दशकयता स्याङ्जा सदरमुकाममा सहनाई बज्न छाडेको जानकारहरु बताउँछन् । पुतलीबजार नगरपालिका– १ कालाखोला निवासी छवे दमाइको निधनपछि सहनाई बज्न छाडेको पुतलीबजार नगरपालिका १४ का शिव नेपाली बताउँछन् । बाबु मरेर गए, छोराले सहनाई बजाएनन् उनले भने, ‘सहनाई बज्न छोडेपछि गाउँघरमा दसैं आएजस्तो लाग्दैन । रागले मन आनन्दित बनाउँछ । वर्षभरिका दुख, पीडा र पीरलाई पनि बाजाको राग (धुन) ले बिर्साउने गर्थो ।’ सहनाई बजेपछि गाँउघरको वातावरण आनन्दीत र रमणीय बन्छ । यस्ता बाजाका रागहरु धेरै किसिमका हुने र अत्यन्त मर्मस्पर्सी हुने पनि नेपालीको भनाई छ ।

गाउँघरमा सहनाई नबज्दा यस वर्षको दसैंको रौनक नभएको जस्तो लागेको, पुतलीबजार निवासी भोला लम्सालले भने, ‘नवदुर्गा सुरुभएसँगै मन्दिरमा घण्ट र सहनाई बज्थे । सहनाईको बाजाले गाउँघरमा रमाइलो थपिन्थ्यो । तर, हिजोआज त्यो कल्पनाजस्तो लाग्न थालेको छ ।’ नवदुर्गाको स्थापनापछि आ–आफनो तोकिएका क्षेत्रका घर पुगेर सइनाई बादकले सहनाई (सेवा) राग बजाउने गर्छन् । दुर्गा विर्सजनपछि तीनै घरमुलीको सहनाई बादकलाई दान दक्षिणा, मासु, र खाद्यान्न दिएर बिदा गर्ने प्रचलन रहिआएको छ । –रासस

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update