Shittalpati
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा

रामचन्द्र रायमाझी
पाल्पा, असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रिब्दीकोटका ७ घर, निस्दीका २५ घर, बगनासकालीका र तिनाउ गाउँपालिकाका एक/एक घर जोखिमका रहेका छन् । जोखिममा रहेका घरका परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा रहेका सम्पूर्ण सामानहरु समेत सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि केही स्थानमा प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ । निस्दी गाउँपालिका–३ च्यामु्रङस्थित भित्री कच्ची सडक खण्डमा माथिबाट पहिरो खस्दा काउली–ढुङ्गनाबेसी सडक खण्ड अवरुद्ध बन्नुको साथै यहाँका २५ घरहरु जोखिममा रहेका छन् । च्यामु्रङ सामुदायिक भवन, लक्ष्मी देवी माविको भवन समेत पहिरोका कारण जोखिमका रहेको प्रहरीले जनाएको छ । जोखिममा रहेका घरहरु मध्ये केही कच्ची र केही पक्कि रहेका छन् । यस्तै रिब्दीकोट गाउँपालिका–३ हार्थोकमा ५ घर जोखिममा रहेका छन् । हार्थोकका नारायण कार्कीको २ तले २ वटा पक्की घर, सोही ठाउँका विष्णु पोखरेल, इन्द्र पाण्डे, र सुरज नेपालीको पक्की घर पहिरोका कारण जोखिममा रहेको प्रहरीले जनाएको छ । रिब्दीकोट–४ सिलाङथोकका ७३ वर्षीय गगनबहादुर खाम्चाको २ तले घरको पछाडीबाट गाह्रो भत्किन जाँदा घर जोखिममा रहेको छ । यस्तै वडा ४ कै गायकटोलका राजकुमार सुनारको घरको गाह्रो समेत भत्किन गई जोखिममा रहेको छ । बगनासकाली गाउँपालिका–७ दैलातुङका बलबहादुर साठीघरेको २ तले घरको गाह्रो भत्किएको छ । यहाँ मानिस र पशुचौपायालाई अन्यत्र सारिएको छ ।

यस्तै तिनाउ गाउँपालिका–६, मस्यामस्थित चिदीसमा पहिरोले घर पुरिएको छ । गोविन्दकुमारी सारुको २ तले घरमा माथिबाट पहिरो खसी घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर भत्किदा दुई जना घाइते समेत भएका छन् । घरलाई पहिरोले च्याप्दा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षकी आरुषी खासु घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले सारुको घर पुरेको हो । घरमा सबै सुतिरहेको अवस्थामा पहिरो जाँदा दुई जना घाइते भएका हुन् । जिल्लाको प्रहरी टोली पहिरो गएको र जोखिम रहेका घरहरुमा पुगेको र तत्काल राहतका लागि पहल गरेको बताएको छ । यहाँका स्थानीय सरकारले जोखिममा रहेका घर र पहिरो व्यवस्थापनमा विशेष योजना बनाएर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update