Shittalpati
गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो

पाल्पा, कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।

यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरतले दुबईमा कार धुने काम गर्दै आएका छन् । उनले किनेको लट्री टिकटको नम्बर १६, २७, ३१, ३७, ४२ रहेको थियो । साढे २ वर्षदेखि भरत नियमित रूपमा चिठ्ठा खेल्दै आएका थिए । यूएईको प्रतिष्ठित मानिने महजूजले यो चिठ्ठा खेलाउदै आएको छ । महजूजको एउटा टिकटको मूल्य ३५ दिर्हाम (करिब १२ सय नेपाली रुपैयाँ) पर्छ । २७ सेप्टेम्बर २०१९ मा दुबई आएका भरत नेपाल फर्कने योजनामा थिए । तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए । अन्ततः उनलाईलाई जीवनमै नसोचेको भाग्य चम्कियो ।

पहिलोपटक दुबई पुुग्दा नेपाल फर्किनुअघि केही जितेर फर्किने अठोट लिएका भरत नियमित रुपमा महजूज चिठ्ठामा भाग लिदै आएका थिए । त्यसैको परिणामले हुन सक्छ उनको जीवनमा भाग्य बदलियो । ३ वर्षअघि ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन उनी दुबई पुगेका थिए । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए । अन्ततः उनलाई ३५ करोडको चिठ्ठा परेपछि भने उनी अत्यन्त खुसी छन् ।
उनको भाइको भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ । चिठ्ठा परेपछि उनले खालिज टाइम्ससँगको कुराकानीमा भने, ‘एउटा शल्यक्रियाको क्रममा उसलाई पक्षाघात भयो र कान गुम्यो । यो पैसाले मलाई उसको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ ।’ भरत आफ्ना पाँचवर्षीय छोरा र तीन वर्षीया छोरीको भविष्य सुरक्षित गर्न उक्त रकम प्रयोग गर्न चाहन्छन् । उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने उनले बताएका छन् ।

उनीसँग बैंकखाता नभएकाले लट्री कम्पनीले नै खोलिदिन लागेको छ । महजूजको अपरेटर इविंग्सका सीईओ फरिद साम्जी भन्छन्, ‘हामीले उनको खाता खोल्न सघाएर पैसा ट्रान्सफर गर्दैछौँ ।’ पछिल्लो पटक ‘घर जानुभन्दा अघि एउटा लट्री किनौँ न’ भनेर किनेको पनि उनी बताउँछन् । ’रातिको १ बजेको थियो, घर जानुभन्दा अघि एक पटक चिठ्ठा खेल्नुपर्छ भन्ने लागेर किनेको थिएँ,’ उनले भने । भरत नेपालबाट महजूजको सबैभन्दा ठूलो रकमको चिठ्ठा जित्ने पहिलो व्यक्ति हुन् । महजूजले अहिलेसम्म ९ अर्ब ८५ करोड रुपैयाँ विजेताहरूलाई दिइसकेको छ । महजजूबाट करोडपति बन्ने भरत २८औं व्यक्ति हुन् ।

तस्बिर : खालिज टाइम्स

 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update