Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा पाल्पा, कपिलवस्तु र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको हो ।

विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो । मादक पदार्थ सेवन गरेका दर्जीले सोमबार तरकारीमा प्रयोग गर्न राखिएको विषादी सेवन गरेका थिए । विषादी सेवन गरेका उनलाई उपचारको लागि रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि मंगलबार लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट आफन्तहरुले घरमै फिर्ता लगेका थिए । उनको घरमै राखिएको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । पाल्पाकै रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका– ७ हिलेमराङ घर भई हाल रामपुर ५ मा बस्दै आएका दमाई मंगलबार साँझा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत अवस्थामा भेटिएका उनको शरीरमा कुनै चोट पटक तथा घाउ नदेखिएको र शवलाई पोष्टमार्टमका लागि रामपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरमा खोलमा डुवेर एक बालकको ज्यान गएको छ । सोही ठाउँका राजु रोका मगरको ८ वर्षीय छोरा सुचाङ रोका मगरको सुरई खोलामा डुवेर ज्यान गएको हो । कपिलवस्तुकै कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्कस्थित यात्रु प्रतिक्षालयभित्र एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँमा मागी खाई हिँड्ने भारत घर भएकी ५३ वर्षीया माया बाई मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उसका अनुसार कपिलवस्तुकै महाराजगंज नगरपालिका–६ सानो बटहनियास्थित जंगलमा पनि एक वृद्धाको ज्यान गएको छ । पहिचान नखुलेकी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ७ बेतही खोला किनारमा एक पुरुषको शव फेला परेको छ । सोही ठाउँका ४१ वर्षीय दीपक थापा मृत अवस्थामा भेटिएका हुन् ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update