Shittalpati
‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’

लुम्बिनी, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको ‘आम सञ्चार र महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रदेश प्रमुख शेरचनले पत्रकार देशको सम्मानित पेशा भएकाले यसमा स्थापित हुनका लागि आफ्नो सीप र क्षमता बढाउँदै जानुपर्ने सुझावसमेत दिए । प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले सामाजिक न्याय, लैङ्गिक र महिलामैत्री समाज निर्माणका लागि सञ्चारमा महिलाको दरिलो उपस्थिति हुनुपर्नेमा जोड दिइन । प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो वा त्यो भन्दै पछिल्लो समय संविधानले महिलालाई दिएको अधिकारसमेत खोस्ने काम भएकाले त्यसविरुद्ध आवाज उठाउन आग्रह गरिन् ।

कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले प्रदेश सरकारले हरेक बजेटलाई लैङ्गिकमैत्री बनाउन पछिल्लो समयमा सरोकारवालासँग छलफलसमेत थालेको बताए । सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले लैङ्गिकमैत्री समाचार, त्यसको उठान, स्रोत पहिचान, व्यावसायिक सीप विकास, स्थानीय तहको निर्वाचन र महिलाका समाचार विषयमा चर्चा गरेकी थिइन । उनले व्यावसायिक सीप र क्षमता बढाउँदै महिला पत्रकार प्रतिस्पर्धामा उत्रिरहेका छन् तर पुरुषको तुलनामा उनीहरुलाई स्थापित हुन समस्या र चुनौती हुने भए पनि समाधान गर्दै अगाडि बढ्न सुझाव दिइन । सोही समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले लैङ्गिकमैत्री समाचार र त्यसको उठानबारे अभ्यास गराइन । कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच दर्जनभन्दा बढी महिला पत्रकार सहभागी भएका थिए । –रासस

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update