Shittalpati
पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित

पाल्पा, देशैभर शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन पाल्पा र गुल्मीमा २ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा १ सय ७७ जना नियमित तर्फका र ३१ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् । पाल्पामा १ सय २७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमित तर्फ छात्रा ४६ जना र छात्र ५६ जना गरी १ सय २ जना, ग्रेड वृद्धितर्फ छात्रा १२ जना र छात्र १३ जना गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । यहाँ परीक्षामा सहभागी हुनु पर्ने विद्यार्थीको संख्या ४ हजार ८ सय ४१ भए पनि पहिलो दिन १ सय २७ जना अनुपस्थित भएका छन् । १ सय ३६ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । परीक्षाको लागि २६ वटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार उक्त केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ३२ जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ निरीक्षक, ४९ जना परीक्षा सहायक, ९८ जना कार्यालय सहयोगी र ३ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा पहिलो दिन मर्यादित रुपमा परीक्षा भएको छ ।

उता गुल्मीमा पनि ८१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ ७५ जना र ग्रेड वृद्धितर्फ ६ जनासहित ८१ जना विद्यार्थी अनुपस्थित भएका हुन् । यहाँ परीक्षामा सहभागी हुनु पर्ने विद्यार्थीको संख्या चार हजार ८ सय २३ जना भए पनि ८१ जना अनुपस्थित भएका हुन् । एसइईमा सहभागी हुने जिल्लाका १ सय ४० वटा विद्यालय रहेका छन् । जिल्लामा यस वर्ष १५ जना विद्यार्थी एसइई दिनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फारम भरेर पनि राजस्व नबुझाएका कारण विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका हुन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसइई परीक्षा यस वर्ष भने विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ । यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको काम समेत गर्ने भएको छ । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update