Shittalpati
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।

एसइई परीक्षार्थीलाई विद्यालयबाटै परीक्षा केन्द्रसम्म आते जाते बसको व्यवस्था समेत विद्यालयले गरेको छ । यो अभियानबाट विद्यार्थीहरु विद्यालयमै बसेर तयारीमा जुटेका हुन् । उनीहरुले परीक्षाको समयमा घरको काम काज, जिम्मेवारी तथा बोझबाट मुक्त भई एकचित्त भएर अध्ययन गर्ने मौका पाएका छन्  । बैशाख ९ गते गतेदेखी २० गते सम्म राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालन गर्दै छ । कोभिड सक्रमणको कारण दुई बर्ष सम्म कक्षा १० का विद्यार्थीले एसइई परीक्षामा भौतिक रुपमा सहभागी विनै उत्र्तिण भएका थिए । जनप्रिय विद्यालयले १८ जना छात्रा र १५ जना छात्रहरुलाई छुट्टा–छुट्टै कक्षा कोठामा राखेर पठन पाठनको व्यवस्था गर्दै आएको छ । ‘विद्यालयमा बसेर पढ्दा पढ्ने वातावरण मिलेको छ, नजानेका कुराहरु साथीहरुसँग सोधेर छलफल गरेर पढ्ने गरेका छौं, साथीहरुले पनि नजानेको कुरा सरसँग सोधेर पढ्ने गरेका छौं, पढाइमा सुधार भएको छ’ विद्यार्थी धनबहादु घर्तीले भने । घरबाट विद्यालय आउने जाने समय बचत भएको छ, घरमा आमा बाबालाई काममा सघाउँदा पढ्ने वातावरण हँुदैनथ्यो, मोवाइल हेर्दा मन भुल्थ्यो, पढ्नै बिर्सिन्थ्यो तर विद्यालयमा एकचित्त भएर पढ्न पाएको विद्यार्थीले पुष्पा सारुले बताइन् । कोभिड सक्रमणको दुई बर्षको अवधिमा विद्यार्थीहरुमा पढ्ने भन्दा अन्य कुराहरुमा बढी चासो दिने गरेकाले विद्यार्थीहरुलाई पढाई प्रति रुची बढाउन एसइईका विद्यार्थीलाई विद्यालयले यो अभियान शुरु गरेको हो ।

विद्यालयले छात्राका लागि महिला शिक्षक, र छात्रको लागि पुरुष शिक्षकसँग सँगै रहने, सँगै खाना खाने, साँझमा विद्यार्थीहरुसित सँगै सुत्ने व्यवस्था मिलाएको प्रधानाध्यापक बाबुराम घिमिरेले बताए । उनी भन्छन् ‘कति सफल वा असफल भन्ने कुरा भोलिको नतिजाले देखाउला तर प्रयास गरेका छांै, आगामी दिनमा अझै व्यवस्थित गरेर लैजाने योजना बनाएका छौं ।’ विद्यालयले साढे ५ बजेदेखि विहान साढे ९ बजेसम्म विहानी कक्षा तथा छलफल, १० बजेदेखि ४ बजेसम्म नियमित कक्षा, बेलुका ५ बजेदेखि ८ बजेसम्म साँझको कक्षा तथा प्रश्न उत्तरको छलफलबाट पढ्दै आएको विद्यार्थी निशा सिंजालीले बताइन् । मगर समुदायको मात्र बसोवास रहेको पूर्वखोला हेक्लाङका विद्यार्थीलाई अनुशासनमा राख्न, अविभावको रेखदेख बेगर खुला ठाउँमा बस्दा नबिग्रिउन भनेर विद्यालयले यो अभियान चलाएको जनाएको छ । एसइई परिक्षार्थी दिने विद्यार्थीलाई विद्यालयदेखि परीक्षा केन्दसम्म आउने जाने बस र खाने सुविधा वडा कार्यालयले व्यबस्था गरे वडा अध्यक्ष मानबहादुर सारुले बताए । प्राय गरी भर्ति, लाहुरे र कृषि पशुपालनबाट जिविकोपार्जन गर्दै आएको मगर समुदायलाई शिक्षाप्रति रुची र चासो जगाउन विद्यालयले शिक्षक तथा विद्यार्थीहरुको सामुहिक प्रयासबाट नमुना अभियान सुरु गरेको । यो अभियानलाई पूर्वखोला गाउँपालिकाले आगामी वर्षबाट सबै विद्यालयमा लागुगर्ने प्रतिवद्धता जनाएको छ । अभियानले विगतमा भन्दा यसपटक एसइईमा शैक्षिक नतिजा सुधार हुनेमा शिक्षक, विद्यार्थी र अविभावक आशावादी देखिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update