Shittalpati
रामपुरमा सुरू भयो बेल विवाह

पाल्पा, जिल्लाको रामपुरमा बेल विवाह अर्थात् सामुहिक ईहि यज्ञ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यज्ञको बिहीबारदेखि विधिवत रुपमा सुरु भएको हो । नेवाः समाज रामपुरको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको जनाइएको छ ।

यज्ञको तीन कन्या र लुम्बिनी प्रदेशका सांसद युवराज खनालले दिप प्रज्वलन गरी शुभारम्भ गरेका हुन् । यज्ञको शुभारम्भ गर्दै प्रदेश सांसद खनालले नेवा : समाजले परम्परागत संस्कृतिको संरक्षणमा ध्यान दिएकोमा खुसी व्यक्त गरे । उनलेहाम्रो मुलुक धर्म र संस्कृतिमा विविधता रहेको भन्दै आ–आफ्नो संस्कृति जोगाउनका लागि एकताको आवश्यक रहेको धारणा व्यक्त गरे । नेवा : समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले नेवार समुदाय आफैमा संस्कृतिको धनी रहेको भन्दै बेल विवाहको संरक्षणमा विगतदेखि नै लागि परेको बताए । बिहीबार बटुकहरुको व्रतबन्ध भएको छ । शुक्रबार र शनिबार कन्याहरुको ईहि हुनेछ । नेवारी परम्परा अनुसार बेल विवाह गरे पछि कन्याहरुले सिन्दुर लगाउन पाउने छन् । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल विवाह गरिन्छ । नेवारी समुदायमा छोरीहरुको पराइ घर जाने विवाहको दिनभन्दा बेल विवाह ठूलो पर्व नै मान्ने गर्छन् । यज्ञ मार्फत १ सय ५० बढी कन्याहरुको ईहि र २० जना बढी बटुकहरुको व्रतबन्ध गर्ने लक्ष्य रहेको समाजले जनाएको छ । नेवारी समुदायमा छोरीहरुको बेलबिबाहमा ब्राम्हण कन्याले सिन्दूर हाल्ने र पानी, मिठाई खुवाउने चलन रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update