Shittalpati
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै

पाल्पा, जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल विवाह गरिन्छ ।

नेवारी समुदायमा छोरीहरुको पराइ घर जाने विवाहको दिनभन्दा बेल विवाह ठूलो पर्व नै मान्ने गर्छन् । नेवारी संस्कृति अनुसार कन्या (कुमार) हरुको ईहि र बटुक (कुमार) हरुको व्रतबन्ध हुन लागेको हो । समाजले पत्रकार सम्मेलन गरी यज्ञ गर्न लागेको जनाएको छ । नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले परम्परागत संस्कृतिलाई निरन्तरता दिदै सामुहिक यज्ञ गर्न लागेको बताए । गत माघमा यज्ञ सञ्चालन गर्ने तयारी गरिए पनि कोभिडका कारण रोकिएको भन्दै अध्यक्ष श्रेष्ठले काठमाडौबाट आउने राज पुरोहितहरु मार्फत यज्ञ विधि सञ्चालन गरिने बताए । यज्ञ मार्फत १ सय ५० बढी कन्याहरुको ईहि र २० जना बढी बटुकहरुको व्रतबन्ध गर्ने लक्ष्य रहेको समाजले जनाएको छ । नेवारी समुदायमा छोरीहरुको बेलबिबाहमा ब्राम्हण कन्याले सिन्दूर हाल्ने र पानी, मिठाई खुवाउने चलन रहेको छ ।

महिनाबारी नहुँदै बेल विवाह गरेमा आउँदो दिनमा आमा बुवाले विवाह गर्न नपाउँदै भागेर विवाह गरेपनि आफन्तहरुले नेवारी संस्कारअनुसार विवाह नै गरिसकेको भनेर चित्त बुझाउने गर्दछन् । बेलविवाहमा दुलाहाको सट्टा बेलका फल राखेर मन्दिरमा पूजाआजा गरिन्छ । त्यो बेलको दाना नै ज्वाइँ शिवजी मानेर पूजाआजा गरिन्छ । त्यो बेलको दाना पनि मन्दिरबाट घरमा ल्यार वर्षौसम्म राख्ने चलन नेवार समुदायमा रहेको छ । एक सय ३७ घर परिवार सहभागी रहेको नेवा ः समाज रामपुरले सबैको सहभागीतामा यज्ञ सम्पन्न गर्ने जनाएको छ । यज्ञ सम्पन्न गर्नको लागि १५ लाख बढी खर्च हुने आंकलन गरिएको छ । यज्ञको लागि स्रोत कन्या, बटुक र अभिभावक बाट प्राप्त दान बाट जुटाउने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update