Shittalpati
व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा जोड

पाल्पा, व्यक्तिगत घटना दर्ताको महत्वप्रति सजग हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले राज्यका हरेक योजना निर्माण र स्थान विशेषको खास खास रणनीति बनाई कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याकं चाहिने र त्यसका लागि समयमै हरेक घटना दर्ता हुनु पर्ने भन्दै त्यसको महत्व र आवश्यकता प्रति आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए । व्यक्तिगत घटना दर्ता सप्ताहको सन्दर्भ पारेर बगनासकाली गाउँपालिका–१ ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले आमनागरिक व्यक्तिगत घटना दर्ताको आवश्यकता र महत्वप्रति सजग र सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकाले पनि यसलाई सार्थक उपयोग गर्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सरकारले विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेकाले तिनका लागि पनि घटना दर्ताले कानुनी आधार तयार गर्ने भएकाले यसको महत्व आमनागरिकमा बुझाउनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले व्यक्ति र राज्यको कानुनी सम्बन्ध यहीँबाट जोडिने भएकाले काम परेका बेला मात्रै प्रमाणपत्र लिने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले घटना दर्तासँगै जोडिएर आउने सामाजिक सुरक्षा कार्यक्रम र पोषण भत्ता वितरणका कार्यमा पनि घटना दर्ताको महत्व रहेको बताए । देशमा सुशासन कायम गर्न र पारदर्शिताको लागि पनि समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्नेमा घर्तीले जोड दिए । कार्यक्रममा घट्ना दर्ताको संक्षिप्त जानकारी प्रस्तुत गर्दै एम.आइ.एस. अपरेटर भोजराज भट्टराईले व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकाले जन्म, विवाह, वा मृत्युको ३५ दिनभित्र आफ्नो वडामा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्नुपर्नेमा जोड दिए । उनले अहिले पनि व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता धेरैले नबुझेको, कतिपय बुझेका नागरिकले पनि वेवास्ता गर्दै आएकाले गाउँपालिकाको यथार्थ विवरण अद्यावधिक गर्न केही समस्या रहेको भन्दै जनप्रतिनिधी, सचेत नागरिकहरूले थप सक्रियता देखाउनुपर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर झेंडी, न्यायिक समिति सदस्य, कुलप्रसाद ढुंगाना, वडा सचिव विराट गैरे, ग्राम्य मा.वि.का प्रधानाध्यापक शालिकराम ढुंगाना, बालज्योति प्रा.वि.का प्रधानाध्यापक छविलाल गैरे, चिर्तुङधारा स्वास्थ्यचौकी इन्चार्ज नोदप्रसाद बस्याल, महिला स्वास्थ्य स्वयमसेविका पेमा चिदी, दुर्गा राना, विष्णुमाया सिंजाली लगायतले अंश, आफन्तसँगको कानूनी सम्बन्ध, विद्यालय भर्ना, नागरिकता प्राप्त गर्न, राहदानी लगायत राज्यबाट पाउने सुविधा उपभोग गर्न व्यक्तिगत घट्ना दर्ता महत्वपूर्ण आधार हुने भएकाले आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे । गाउँपालिकाका न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगानाको स्वागत, वडा सचिव विराट गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update