
पाल्पा, अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका संयोजक सन्दीप रानाले विकासको आन्दोलन अहिलेको आवश्यकता रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा लोक सुशेली युवा क्लब, रम्भा १, च्याङलिङले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै रानाले अहिलेको आवश्यकता भनेको विकासको आन्दोलन रहेको बताएका हुन् ।
उनले भने ‘परिवर्तनका नाममा धेरै आन्दोलन भए, तर विकासका आन्दोलन हुन सकेनन्, अब जनताको जीवनस्तर उकास्न विकासको आन्दोलन सुरु हुनुपर्छ ।’ विकास नभएसम्म जनताको जीवनस्तर नउकासिने भन्दै संयोजक रानाले विकास अहिलेको आवश्यकता रहेको औल्याए । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका रानाले परिवर्तनकारी शक्तिहरुलाई जनताले पहिचान गर्नुपर्ने उपयुक्त समय आएकोे बताए । उनले देश विकासका नाममा धेरै क्रान्तिहरु भएको भन्दै आगामी दिनहरुलाई सुखद् बनाउन क्रान्तिको भन्दा व्यवस्थापनको आवश्यकता रहेको धारणा व्यक्त गरे । रानाले युवाशक्तिहरुलाई समयानुकुल परिवर्तनको बाटोमा अगाडि बढ्न समेत आग्रह गरे । कार्यक्रममा रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले लोक सुशेली युवा क्लव सामाजिक, साँस्कृतिक जगेर्नामा लागि परेको बताए । उनले पछिल्लो समय मौलिक सांस्कृतिक र रितिरिवाज हराउदै जान थालेको अवस्थामा क्लवले त्यसको जर्गेनामा देखाएको सक्रियता महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
नेपाली काँग्रेस रम्भा गाउँपालिकाका अध्यक्ष ऋषिराम अर्यालले लोक सुसेली युवा क्लबका गतिविधिहरुलाई कोरोनाले प्रभाव पारेको बताउँदै नयाँ जोश र जाँगर सहित आएको नयाँ वर्ष २०७९ मा सामाजिक विकृति चिर्न युवाहरु लागि पर्नुपर्ने बताए । क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव पुष्कल शर्मा, गायिका सुशीला गौतम तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुित देखाएका थिए ।