
पाल्पा, अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।
उसले चैत २३ गते अर्को सूचना जारी गरी जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको छ । प्रशासनले चैत ८ गते १५ दिनको समय दिएर चैत २३ गतेसम्म हतियार बुझाउन जिल्लावासीलाई आग्रह गरेको थियो । उक्त समयसम्म पनि नबुझाएपछि प्रशासनले पुन समय थप गरी चैत मसान्तसम्म अनिवार्य बुझाउन आग्रह गरेको छ ।
कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगराएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपछि हकवालाको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको भए तोकिएको समयभित्र सम्बन्धित जिल्ला प्रशासनमा बुझाउन गृह मन्त्रालयले यस अघि आग्रह गरेको थियो । सोही अनुसार पाल्पा प्रशासनले पनि अवैध रूपमा राखिएका हतियार बुझाउन आग्रह गर्दै आएको हो ।
अवैध हातहतियार नबुझाए कानुनबमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तद्वारा जारी सूचनामा उल्लेख छ । थप दिएको समय सिमाभित्र नबुझाएमा इजाजत रद्द गरी हतियार जफत हुन सक्ने समेत सूचनामा जनाइएको छ । अवैध रूपमा राखिएका हतियार नजिकको इलाका प्रहरी, प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने जनाइएको छ ।