Shittalpati
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु

मुलुकको अर्थतन्त्रलाई लिएर यति बेला आमचिन्ता बढेको छ । नबढोस् पनि कसरी ? मुलुकको अर्थतन्त्रका धेरै आँकडाहरू चिन्ताजनक छन्, परन्तु जिम्मेवार निकाय, तिनका नेतृत्व र समग्र सरकारले यसप्रति यथोचित चिन्ता लिएको पाइँदैनरु। रेमिट्यान्स, निर्यात, पर्यटन आगमन, विदेशी लगानी र विदेशी सहायता शीर्षकबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुन सकेको छैन । आयात भने उच्च परिमाणमै रहेकाले अर्थतन्त्र थप संकटको बाटामा छ । विदेशी मुद्रा संञ्चितिको चरम अभाव र वैदेशीक ऋण तिर्ने क्षमता खस्किएको कारण सार्कको सदस्य राष्ट्र श्रीलंकाको आर्थिक अवस्थाले गम्भिर मोड लिई अर्थतन्त्र धरासायी अवस्थामा पुगेको कारण र त्यहाँको जनजीवनमा आएको संकटका कारण पनि नेपाली जनमानसमा नेपालको अर्थतन्त्रले कतै त्यस्तै रुप लिने त होईन भन्ने आशंका उत्पन्न गराएको छ । यसै बिचमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको अवस्थामा पनि गिरावट आएको र बैक तथा वित्तीय संस्थाहरुलाई विभिन्न निर्देशन दिएको छ भने सरकारले पनि अर्थतन्त्र समस्या ग्रस्त अवस्थामा नजाओस् भन्नका लागि विभिन्न पूर्व तयारी थाल्नुले जनतामा नेपालको अर्थतन्त्रको अवस्थाले पनि श्रीलकाको मोड लिने त होइन भन्ने आशका र त्रास भने उत्पन्न गराएको पाईन्छ । नेपालको वर्तमान अर्थव्यवस्था र यसैसँग सम्वन्धित उठेका सवालहरुलाई यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

नेपालको भौगोलिक बनोट र प्रकृतिको उपहारलाई हेर्दा नेपालको अर्थतन्त्रलाई माथी उकास्न सकिने प्रसस्त संभावनालाई थाती राख्दै करीव नेपाल भारत बिच नै ८० प्रतिशतको व्यापार घाटालाई अगाल्दै, वैदेशीक ऋणको अंशमा वृद्धि गर्दै विकास र समृद्धिको सपना साकार पार्ने प्रयास गरिरहेका छौं । नेपालको अर्थतन्त्रमा समस्याको संकेत देखिनु कतै वैदेशिक ऋण र अनुदानमा निर्भर तीन तहका सरकार सहितको संघीय राज्य त होइन यस्ता प्रश्न तथा जिज्ञासा पनि जनमानसबाट सुनिन्न थालेको पाईन्छ । यस सवालको चित्त बुझ्दो उत्तरको पखाईमा नेपाली जनताहरु छन् । वैदेशीक व्यापार घाटा तिव्ररुपमा वृद्धि हँुदै जानु, रुस –युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुँदै जानु, दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य स्तरमा तिव्र रुपमा वृद्धि आउनु , नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा संचितिको अवस्थामा ह्रास आएको तथ्याकं प्रस्तुत गर्नु र नजिकैको राष्ट्र श्रीलकामा आर्थिक धरसायीको संकेतहरु देखिनुले नेपालको अर्थतन्त्र माथी पनि प्रश्न चिन्ह भने पक्कै खडा गरेको पाईन्छ । यसका साथै प्रत्येक वर्ष बढ्दै गरेको बजेटको आकार र यसको घाटा पूर्तिको ठूलो अशंको रुपमा वैदेशिक ऋण तथा अनुदानलाई केन्द्रीत गरेको कारण नेपालको वैदेशीक ऋणको आकारमा भने वृद्धि भएको देखिन्छ । तीन तहका सरकार र तीनका दैनिक प्रसाशन सञ्चालनका लागि सरकारको खर्चमा अत्याधिक वृद्धि भएको देखिन्छ । अनुत्पादक खर्च अझै भनौ देशको प्रसाशन संयन्त्र सञ्चालनको लागि लिइने वैदेशीक ऋण कुनै पनि देशको अर्थतन्त्रका लागि राम्रो भने पक्कै मानिदैन । यस पक्षमा सुधारको कदम सञ्चालन गर्नु तत्काल आवश्यक रहेको देखिन्छ ।

वैदेशिक व्यापारको अवस्थालाई निर्यातमा केन्द्रीत गर्नका लागि आवश्यक नीतिगत व्यवस्था नगर्नु, स्वदेशी तथा वैदेशीक लगानीलाई आर्कषित गर्नका लागि आवश्यक व्यवस्था गर्न नसक्नु साथै अनावशयक नीतिगत झन्झटलाई न्यूनीकरण गर्नतर्फ ध्यान नदीनु, रेमिटान्सको भरमा आयात व्यापार गरी वस्तु तथा सेवाको आपूर्ति गर्नु तर रेमिटान्स भित्रयाउनका लागि आवश्यक सहज र सरल नीतिगत कदम नचाल्नु, वैदेशीक रोजगारीबाट मात्र नभएर अन्य विकल्पबाट विदेशी मुद्रा देश भित्र भित्रायाउनका लागि योजना तथा कार्यक्रमको खोजी नगर्नु, यसैका आधारमा नेपालको अथतन्त्र सञ्चालन गर्ने सपना देख्नु नेपालको अर्थतन्त्रमा खतराको संकेत देखिनुको मुख्य कारणको रुपमा रहेको छ । एकातिर वैदेशीक रोजगारमा गएका नागरिकले कमाएको कमाईलाई बैंकमार्फत देशमा भित्रयाउनका लागि सरकारले सरल र सहज वातावरण बनाउनु पर्ने देखिन्छ भने अर्कोतर्फ विदेशी मुद्रा देश भित्र भित्रायाउनका लागि विभिन्न विकल्पहरुको खोजी गर्नु पर्ने देखिन्छ । कुनै मापदण्ड नै नबनाईकन सरकार पिच्छे वैदेशीक ऋण लिने र विकास, समृद्धिको नारा लगाउनु/सपना नागरिकलाई देखाउने गणतन्त्र पछिका सरकारहरुमा होडवाजी नै देखिएको छ । जहीले पनि जती पनि वैदेशीक ऋण र अनुदानमा रमाउने प्रवृत्तिले हामीलाई परनिर्भर बनाएको छ भने अर्कोतर्फ वैदेशीक ऋणको अश अत्याधिक मात्रामा वृद्धि हुँदै गईरहेको देखिन्छ भने यसले नेपालको अर्थतन्त्रमा समस्या थपिदिने सम्भावना बोकेको देखिन्छ । यसका लागि आवश्यक वैदेशीक सहायता नीति बनाई तत्काल निश्चित क्षेत्र, समय र उद्देश्यका लागि मात्र वैदेशीक ऋण/सहायता लिन सक्ने हो भने नेपालको अर्थतन्त्रमा समस्या देखिदैन्थयो की ? कुनै पनि देशको अर्थतन्त्रको अवस्थालाई मूल्याकंन गर्ने केहि सूचकहरुमा कुल ग्राहस्थ उत्पादन, रोजगारीको अवस्था, मूल्य सूचक, मुद्रास्फितीको अवस्था, शोधानान्तर स्थिती, आयात निर्यात व्यापारको अवस्था,विदेशी विनिमय सञ्चितीको अवस्था, बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था, कर्जा तथा लगानी प्रवाहको अवस्था, विप्रेषण आप्रवाहको अवस्था आदिलाई लिने गरिन्छ । यीनै सुचकहरुको विश्लेषण गरी देशको अर्थतन्त्र सकरात्मक वा नकरात्मक कुन अवस्थामा छ धारणा बनाउन सकिन्छ । नेपालको वर्तमान अर्थतन्त्रको मूल्याकनका आधारका रुपमा यीनै पक्षलाई लिने गरिन्छ । विश्लेषण गर्दा यी सबै सुचकहरु सन्तोषजनक अवस्थामा रहेको भने देखिदैन । नेपालको अर्थतन्त्रको मूल्याकंनका लागि आधिकारीक र यर्थाथ तथ्याकंको आवश्यकता पर्दछ तर नेपालका आधिकारीक र एउटै खालको तथ्याकं नभेटिनु र राज्यका हरेक निकायले फरक–फरक तथ्याक प्रकाशन गर्नुले अर्थतन्त्रको सही र यर्थाथ विश्लेषण गरी अर्थतन्त्रको अवस्था यस्तो छ भनेर भन्न सकिने अवस्था भने रहेको देखिदैन । देशमा विदेशी मुद्रा सञ्चितीको अवस्था क्रमश घटी रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्याकंले बताई रहँदा कतै यसले हाम्रो आयात व्यापारमा समस्या ल्याउने त होइन ? खुला अर्थतन्त्रलाई अगाल्दै अगाडि बढदै गरेको, आन्तरिक उत्पादनको अवस्था दयनीय अवस्थामा रहेको नेपालका लागि उपभोग्य वस्तु खरीदको अभावमा मूल्यस्तर अत्याधिक बढ्ने देखिन्छ । यसको लागि राज्यका निकायले आवशयक पहल कदमी तत्काल चलाउनु जरुरी देखिन्छ ।

यसका साथै पछिल्लो समय नेपालमा भन्ने गरिएको रुस र युक्रेन युद्धको कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भै रहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले यसको खरीदका लागि विदेशी सञ्चितीको ठूलो अशं बाहिरी रहेको छ भने आयल निगमले पनि पेट्रोलियम पर्दाथ खरीद गर्नका लागि सञ्चिती रित्ती सकेको भनिरहेको पाईन्छ भने अर्कोतर्फ यसको मूल्यमा आएको निरन्तर वृद्धिले देश भित्रका हरेक क्षेत्रमा नकरात्मक प्रभाव पार्ने भएकाले पनि नेपालीको दैनिक जीवनमा समस्या र्सिजना गरिदिएको सहजै अनुमान गर्न सकिन्छ । बढ्दो व्यापार घाटालाई कमी गर्नका लागि आवश्यक संरचनात्मक सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास गदै आन्तरीक उत्पादन वृद्धिमा जोड दिई स्थायित्व कायम गर्नु आजको आवश्यकता रहेको देखिन्छ । यसका साथै अनावश्यक सरकारी खर्चलाई कटौती गरी मितव्यीता अपनाई मतदातालाई प्रभाव पार्ने, सस्तो लोकप्रीयताका लागि ठूलो आकारको बजेट बनाउने प्रवृित्तको अन्त्य गरी देशको अर्थतन्त्रको यर्थाथ धरातललाई टेकेर आवश्यक नीति तथा कार्यक्रहरुको निमार्ण गर्न सक्ने हो भने अर्थतन्त्रमा आगामी दिनमा समस्या देखिँदैन थियो की ? यसका लागि अर्थमन्त्रालय, राष्ट्र बैक लगायत सम्बद्ध पक्षले तत्काल अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न जरुरी देखिन्छ ।

(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update