Shittalpati
राजस्व छली रोक 

नेपालमा पछिल्लो समय राजस्व संकलन  निराशजनक नै छ । राजस्व चुहावट रोक्न नसक्दा हरेक वर्ष राजश्व संकलनमा कमी आउने गरेको छ । 
पछिल्लो समयम भन्सार छली गरी अवैध रुपमा सामान आयता हुँदा सरकारले  ठूलो रकम राजश्व गुमाउनु परेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । पछिल्ला केही वर्ष यता पाल्पामा  भन्सार छलेर  सामान ल्याउने क्रम बढेको छ । केही दिन अघि मात्र पनि यहाँका विभिन्न ठाउँहरुबाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामानहरू बरामद गरेको छ । प्रहरीले रम्भा गाउँपालिका र बगनासकाली गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुबाट  भन्सार छली चोरी पैठारी गरी ल्याएका एक लाख ३३ हजार ६ सय  बराबरको अवैध सामान बरामद गरेको हो । ५१ हजार ४ सय ५० बराबरको ३ सय ४३ पिस लेडिज सल, २४ हजार ६ सय बराबरको ४१ पिस लेडिज कुर्था सुरुवाल, १८ हजार ८ सय बराबरको बच्चा कपडा सेट र ३८ हजार ७ सय ५० बराबरको विज्ली लेखेको–सुर्ती प्याकेट  बरामद गरिएको थियो । ति सामानहरुको कुनै पनि बिल भौचर थिएन । सम्बन्धित निकाय मौन बसिदिँदा यस्तो क्रम दिनानुदिन बढ्दै गइरहेको छ । जसको प्रत्यक्ष असर सरकारको राजश्वमा पर्ने देखिएको छ । 

राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ । यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन् । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुखद् हो । पछिल्ला वर्षहरूमा यस्ता असमान्य बेलाबाहेक सामान्य अवस्थामा पनि चोरी–पैठारीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । राजस्व छलीमा कर्मचारीको समेत मिलेमतो हुने गरेको छ । खासगरी रसुवा, विराटनगर, भैरहवाजस्ता ठूला भन्सार नाकाहरूमा यस्तो गडबडी भएको फेला परेको छ । मुलुकका प्रमुख भन्सार नाकाबाट छुटेका ट्रकमै राजस्व छली हुनु गम्भीर विषय हो । राजस्व छली कुनै पनि हिसाबमा क्षमा दिने विषय होइन । पछिल्ला वर्षहरूमा नक्कली भ्याट बिल प्रयोग बढ्नुमा पनि भन्सार छली वा न्यून बिजकीकरणको ठूलो हात छ । त्यसैले चौतर्फी असर गर्ने भन्सार छली नियन्त्रणमा सरकार अत्यन्त गम्भीर बन्न आवश्यक छ । यसर्थ भन्सार छल्ने र छल्न सहयोग गर्ने जो कोहीलाई कडा भन्दा कडा कानुनी कारवाही गरी भन्सार छली गर्ने कार्यलाई रोक्न जरुरी छ ।

  


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update